जसपामा भूईंचालो : ठाकुर र महतो ओली सरकारमा जान तयार भएपछि बाबुराम-उपेन्द्र असन्तुष्ट

काठमाडौं । मधेशवादी संगठन जनता समाजवादी पार्टी (जसपा) भित्र सरकारमा जाने विषयलाई लिएर रडाको मच्चिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारमा जान तयार हुँदा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई कुनै पनि हालतमा ओली नेतृत्वमा सरकारमा जान नहुने अडानमा छन् । अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो ओली सरकारमा जाने अन्तिम कसरतमा लागेपछि नेता भट्टराईले सार्वजनिक रुपमै असन्तुष्टि जनाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीलाई बिदा गर्न ढिलाई गर्नु नहुने बताउनुभएको छ । ओली सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपाभित्र तीव्र मतभेद भइरहेका बेला डा. भट्टराईको ट्वीटले सो दलभित्र भुईंचालो जान लागेको स्पष्ट हुन्छ । ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले बिहीबार ट्वीटरमा लेख्नुभएको छ, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !’ प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारमा जान अनिच्छुक देखिएपछि माओवादी केन्द्रले चाहेजस्तो कांग्रेस, जसपा र माओवादी गठबन्धन बन्न सकेको छैन । यही बेलामा प्रधानमन्त्री ओली र जसपा नेता ठाकुर र महतो पक्षबीच सरकारमा जानेबारे सहमतिको नजिक पुगेको बुझिएको छ । ओलीले आफ्ना माग पुरा गरे जसपा सरकारमा जान कुनै समस्या नरहेको ठाकुर–महतो पक्षका नेताहरुले बताउने गरेका छन् । प्रधानमन्त्री ओली आफ्ना माग पुरा गर्न सकारात्मक देखिएको र बालुवाटारमा भइरहेका छलफलले एक दुई दिनभित्रै परिणाम ल्याउने उनीहरुको भनाई छ । जसपा नेता ईस्तियाक राइनका अनुसार संसदमा रहेको नागरिकता विधेयक पास गर्दिने, मधेस र थरुहट आन्दोलनका बेला नेता कार्यकर्तामाथि लागेका मुद्दामध्ये २ सय फिर्ता लिने, रेशम चौधरीको रिहाई गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संविधान संशोधन गर्न कार्यदल बनाउने हो भने जसपा सरकारमा नजाने कुरै छैन ।