श्रीलंका र पाकिस्तानपछि बंगलादेशमा पनि बढ्दै आर्थिक संकट, उद्योगहरू बन्द हुने खतरा

काठमाडौं ।  विगत केही महीनायता बंगलादेशमा डलर संकट चुलिएको छ । इन्धन र ग्यासको मूल्य बढ्दाको असर घरेलु स्तरका केही प्रमुख उद्योग तथा उत्पादनमा देखिन थालेको छ । डलर संकटका कारण गएको वर्ष नै त्यहाँको केन्द्रीय बैंक 'बंगलादेश बैंक'ले आयातमा कयौं बन्देज र प्रतिबन्ध लगाएको थियो । पर्याप्त डलर नहुँदा कतिपय वाणिज्य बैंकले आयातका लागि लेटर अफ क्रेडिट (एलसी) जारी गर्न सकिरहेका छैनन् । यी सबैको मारमा आयातकर्ताहरू परेका छन् । बंगलादेशले खाद्यान्नदेखि कल–पूर्जासम्म कयौं वस्तु आयात गर्ने गरेको छ । उद्यमीहरूले उद्योगका लागि आवश्यक कच्चा पदार्थ खरीद गर्न अनेकौं झन्झट र समस्याको सामाना गर्नु परिरहेको छ । यसमाथि इन्धन (पेट्रोल- डिजेल)को भाउमा भएको वृद्धिका काण ढुवानी तथा अन्य खर्च पनि बढेको छ । पछिल्लो समय व्यावसायिक क्षेत्रमा ग्यासको मूल्य बढ्दा उद्योगको उत्पादन लागत पनि बढेको छ । यसले गर्दा त्यहाँका धेरै उत्पादकहरू समस्यामा परेका छन् । एकातिर मुलुकमा यी वस्तुको मूल्य अकासिएको छ भने अर्कोतिर कच्चा पदार्थ आयातमा समस्या हुँदा उत्पादनलाई निरन्तरता दिन गाह्रो भएको छ । तयारी पोशाक बंगलादेशको अर्थतन्त्रको मुख्य खम्बा हो । तयारी पोशाकपछिको मुख्य निर्यात क्षेत्र औषधि हो । तर, यी दुवै उद्योगका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्छ । झन्डै ८० देखि ८५ प्रतिशतसम्मका कच्चा पदार्थ आयात गर्नु पर्छ । यी दुई उद्योगका लागि मात्रै वर्षेनी १ अर्ब ३० करोड डलर हाराहारीमा कच्चा पदार्थ आयात गर्ने गरिएको छ । तर, अहिले आर्थिक संकटबीच कम्पनीहरूले समयमै कच्चा पदार्थ विदेशबाट ल्याउन सकेका छैनन् । शत प्रतिशत मार्जिन दिएर पनि एलसी पाउन व्यवसायीलाई मुस्किल छ । बैंकहरूबाट एलसी पाउन नसकेपछि धेरै आयातकर्ताले मगाएका कच्चा पदार्थ बन्दरगाहमै थुप्रिएका छन् ।  यसको कारण औषधि कम्पनीहरूको उत्पादन प्रभावित भइरहेको छ । औषधि बनाउन लाग्ने खर्च बढेको छ । डलरको तुलनामा बंगलादेशको मुद्रा कमजोर हुँदा आयात खर्च चुलिएको छ । कच्चा पदार्थको भाउ बढ्दा गएको वर्ष बंगालादेशी औषधि महँगिएको थियो । कच्चा पदार्थको मूल्यवृद्धि, ग्यास तथा सञ्चालन खर्चमा भएको वृद्धि, डलरको खरीदको लागतमा भएको वृद्धि आदिका कारण यो वर्ष पनि त्यहाँ औषधिको भाउ बढ्ने जोखिम बढेको छ ।  महँगो भयो कर्जा  महँगीको मार खेप्नेमा औषधि उद्योग मात्रै छैनन्, सिमेन्ट उद्योग पनि प्रभावित भएका छन् । लोडशेडिङका कारण उत्पादनमा प्रतिकूल असर परेको छ । ग्यास संकटका कारण व्यवसायीहरूले आफैंले बिजुलीको उत्पादन गर्न सकेका छैनन् । ग्यास र इन्धनको भाउमा भएको वृद्धिले उत्पादन लागत बढेको छ । डलरको भाउ बढ्दा कर्जाको खर्च २० प्रतिशतले बढेको बताइएको छ । यस्तोमा सिमेन्ट उद्योगसामु कार्यशील पूँजी संकट पैदा भएको छ ।  गएको वर्ष शुरुमा कच्चा पदार्थ किन्न व्यवसायीहरूले १ डलरका लागि ८६–८७ टाका खर्चिनुपर्थ्यो । तर, डलरको भाउ बढेपछि गएको वर्षको अन्त्यतिर  १ डलरका लागि ११२ टाकासम्म खर्चनुपर्ने अवस्था आएको थियो ।  डलरका लागि बढी खर्चनु पर्दा व्यापारीहरूको पूँजी सुक्दै गएको छ । साना उत्पादकहरूले लामो समय पनि बैंकबाट एलओसी नपाउने अनि उत्पादन नै ठप्प हुने अवस्था बढेको छ ।   भाउ बढेपछि विक्री प्रभावित बंगलादेशमा सवारी साधनको इन्जिनदेखि कृषि अनि निर्माण क्षेत्रसम्मै प्रयोग हुने उपकरण, प्लाष्टिकका सामानहरूको साँचो, नट–बोल्ट र बेरिङसम्मै सबै सामान स्थानीय रूपमा बनाइन्छ । तर, विगत एक वर्षदेखि अन्य उद्योगले जस्तै यी उद्योगहरू पनि संकटबाट गुज्रिहेका छन् । रुस र युक्रेनको युद्धपछि कच्चा पदार्थको भाउ अकासिएको छ । डलर बढ्दा उद्योगको खर्च झनै बढेको छ । यस्तोमा सामानको मूल्य बढाउनुको विकल्प उद्योगीहरूसामु छैन । तर, मूल्यवृद्धिको असर देखिँदा विक्री घटेको छ । जसका कारण निर्यात प्रभावित भएको छ ।  बंगलादेशमा छाला उद्योगमा सकेसम्म स्थानीय स्तरमै उपलब्ध हुने छाला प्रयोग गरिन्छ । तर, छालाको प्रशोधनका लागि चाहिने रसायन आयात गर्नु पर्छ । अन्य उद्योग जस्तै यो उद्योगलाई पनि बैंकसँग एलओसी पाउन मुश्किल छ । उद्योगमा ग्यास र बिजुली नहुँदा अरु समस्या थपिएका छन् । बैंकलाई पनि समस्यै छ । सबै उद्योग क्षेत्रबाट एलओसीको माग बढेको छ । तर, विदेशी मुद्रा नहुँदा एलओसी जारी गर्न सकिरहेको छैन । खाद्यान्न आयात गर्ने व्यापारीलाई बैंकले एलओसी दिन नसकेको बेलामा अरुले कसरी पाउने ?  मारमा प्रकाशन र मुद्रण उद्योग  डलर अभावबीच बंगलादेशमा कागजको भाउ अकासिएको छ । गएको एक महीनामा मात्रै बजारमा कागजको भाउ झन्डै दुई गुणा बढेको छ । बढी पैसा दिँदा पनि व्यापारीहरूले राम्रो गुणस्तरको कागज पाउन सकेका छैनन् । तीन महीनाको तुलनामा प्रतिरिम कागजको मूल्य दुई गुणा भएको छ । कागजको भाउ हप्तैपिच्छे बढिरहेको छ । गएको जुलाईमा डलरको भाउ बढेसँगे कागजको भाउ पनि निरन्तर बढिरहेको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

अर्थतन्त्रको अति राजनीतीकरण

विरोधाभासपूर्ण नीतिको सकस यतिखेर अर्थतन्त्रले सामना गरिराखेको छ । सतहमा देखिएको आर्थिक संकटका संकेतहरू तत्कालीन अक्षमताको उपजमात्र होइन, यो त अर्थतन्त्रप्रति निरन्तर उदासीन प्रवृत्तिको परिणति हो । विदेशी मुद्राको सञ्चितिमा ह्रास, वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव, व्यापारघाटा, वस्तु तथा सेवाको मूल्यमा उतारचढाव हाम्रो आर्थिक व्यवस्थामा नयाँ विषय होइनन् । यसको दीर्घकालीन समाधानको सट्टा टालटुले उपायमा खोजिँदै आएको आत्मरति र राजनीतीकरण समस्याको गाँठी हो । आयातबाट आर्जित आयले जसोतसो साधारण खर्च धानिएको अवस्थामा विकासका लागि अनुदान र ऋणको भर छ । त्यसमाथि वित्तीय अराजकता र तहगत भ्रष्टाचारले प्रतिफल छैन । कोरोना महामारीले उत्पादन र आपूर्तिमा सृजित असन्तुलन र पछिल्लो समयमा रूस युक्रेन तनावले थपेको दबाबले समस्याको आयतन यतिखेर विस्तारमात्रै भएको हो । हामीकहाँ यो समस्यालाई कसरी समाधान गर्नेभन्दा पनि अर्थतन्त्रका सूचकहरूका आडमा कसरी राजनीति गर्न सकिन्छ भन्ने प्रवृत्ति गम्भीर समस्याको रूपमा देखा परेको छ । पूर्वअर्थमन्त्रीदेखि, पूर्वगभर्नर र केही विज्ञहरूका अभिव्यक्ति सुन्दा यस्तो लाग्छ, उनीहरू समस्याको आगोमा पानी हाल्ने होइन, घ्यू थप्ने अभिप्रायबाट ओतप्रोत देखिन्छन् । अर्थतन्त्रप्रतिको चिन्तनभन्दा बढी राजनीतिक आग्रह बढी हाबी छ । स्मरण हुन्छ, डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्रमार्फत अर्थ व्यवस्था ‘खत्तम’ देखाएका थिए । छोटै समयान्तरमा अर्थतन्त्र ‘उत्तम’ भएको देखाउन उद्यत देखिए । अहिले अर्थतन्त्रका सूचकका जेजस्तो संकेत देखिएको छ, यो रातारातको परिवर्तन पक्कै पनि होइन । अर्थतन्त्रको यो अवस्थामा उनको कार्यकालको ‘योगदान’ कम छैन, बरु बढी नै होला । अहिले तिनै खतिवडा अर्थतन्त्रको अवस्थाको उग्र आलोचकका रूपमा उत्रिएका भेटिन्छन् । सुधारका सवालमा गफबाहेक सिन्को नभाँच्ने, तर हरेक कुरालाई राजनीतिक चश्माले हेर्ने प्रवृत्ति अर्थतन्त्रको उँधोगतिको कारण हो । यतिखेर सरकार र अर्थमन्त्री जनार्दन शर्माको कार्यशैली होओस् वा प्रतिवादमा आइराखेका आलोचनाका स्वरहरू, तिनमा समाधानभन्दा विरोधाभास बढी हाबी छन् । यतिसम्म कि, नेपालको अर्थतन्त्रलाई श्रीलंकाको ‘टाट पल्टिएको’ अवस्थासँग तुलना गर्न थालिएको छ । श्रीलंका टाट पल्टिएको हो कि होइन ? यो अलग पक्ष हो । तर, यो तुलनाले आम जनमानसमा एक खालको भय पैदा गरेको छ । सर्वसाधारणहरू अरू केही नभए पनि कम्तीमा २/४ महीनालाई पुग्ने दाल चामल जगेडामा राख्नुपर्छ भन्न थालिसके । के देश साँच्चै श्रीलंका पथमा अघि बढेको हो त ? हो भने यसलाई कसरी समाधानको बाटोमा लैजाने ? होइन, संकटलाई बढाइचढाइमात्रै गरिएको हो भने यसले नभएको संटक निम्तिन सक्छ भन्नेमा सतर्कता चाहिँदैन ? पक्कै पनि अर्थतन्त्र राजनीतिक स्वार्थअनुसार व्याख्या गर्ने र बुझ्ने विषय होइन । लगानीयोग्य रकमको अभाव, बढ्दो व्यापार घाटा र विदेशी मुद्राको सञ्चितिमा दबाब, सुधारका लागि लिइएका निर्णयलगायतले आर्थिक सरोकारमा समस्यासँगै अन्योल थपिएकोमा विवाद छैन । गाँठोलाई फुकाउनेभन्दा कसरी हुन्छ जेलजाल पारेर राजनीतिक दुनो सोझ्याउने खोज्ने बदनियत अर्थतन्त्रका निम्ति योभन्दा बढी हानिकारण हुनेछ । सरोकारका निकायको आरोपप्रत्यारोप, कटाक्ष र कदमले समाधानको सट्टा अनपेक्षित स्थितितर्फ उन्मुख हुने खतरा नजिकएको छ । कुनै समय १ वर्षभन्दा बढीको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेकोमा अहिले करीब ७ महीनामा खुम्चिनुलाई मुख्य चिन्ताको विषयको रूपमा पेश गरिएको छ । एकातिर नेपाल राष्ट्र बैंकका अधिकारीहरू नै यो संकटको संकेत त हो तर, आत्तिइहाल्नुपर्ने अवस्था होइन भनिराखेका छन् । अर्कातिर, बैंकहरूले आयातका लागि प्रतीतपत्र खोल्न छोडिसके । तर, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकजस्ता निकायले आजसम्म यो स्पष्ट पारेका छैनन् कि, कति महीनाको आयात धान्न सक्ने सञ्चिति सहज सूचक हो ? यो स्पष्ट नहुँदा अन्योलमात्र होइन, आपूर्ति व्यवस्था खल्बलिने खतरा बढेको छ । बाह्य क्षेत्रमा दबाब किन आयो ? यो हाम्रो आन्तरिक कारणमात्र होइन । कोरोना महामारीले वैश्विक व्यापारचक्र बिथोलिँदा उत्पादन र आपूर्तिमा व्यापक असन्तुलन देखियो । कोरोना उत्कर्षमा हुँदा खुम्चिएको माग महामारी मत्थर हुँदै जाँदा ⋲वात्तै बाहिर आयो । उत्पादनमा कमी र अप्रत्याशित मागले मूल्य अकाशिएको छ । हाम्रो आपूर्ति व्यवस्था आयातमा आधारित छ । आन्तरिक उत्पादनको कमजोर धरातलमा बढ्दो माग र आपूर्तिमा बाह्य क्षेत्र दबाबमा पर्नु अस्वाभाविक हुँदै होइन । यस्तोमा आन्तरिक उत्पादन नभए बाहिरबाट आपूर्ति हुन्छ । यतिसम्म कि, खेतीयोग्य जमीन बाँझो राखेर खाद्यान्न आयात गर्ने अभ्यास विस्तार भइराखेको छ । दुई तिहाइ जनसंख्या कृषि पेशामा आबद्ध भएको देशमा खाद्यान्न आयात नभए भान्छा नचल्ने अवस्था छ । सरकारी आयव्यय आयातबाट हुने राजस्वमै आधारित छ । आयातबाट आर्जित आयले जसोतसो साधारण खर्च धानिएको अवस्थामा विकासका लागि अनुदान र ऋणको भर छ । त्यसमाथि वित्तीय अराजकता र तहगत भ्रष्टाचारले प्रतिफल छैन । जुनसुकै सरकार आए पनि तिनले आर्थिक सम्भाव्यताभन्दा लोकप्रियतामुखी योजनालाई प्राथमिकतामा राख्दै छन् । योजनामा आवश्यकता र सम्भावनाको सट्टा नेतृत्वको राजनीतिक स्वार्थ बढी निर्णायक छ । कुनै पनि योजनाले समयमा परिणाम दिँदैनन् । योजनामा स्रोत निष्क्रिय भएर बस्दा आर्थिक संकट समाधान हुँदैन । यसलाई कसरी व्यवस्थापन गर्ने ? दक्षता नपुग्दा समस्या चर्किनु स्वाभाविकै हो । कोरोना महामारीताका बैंकको ब्याजदर घटेर ६/७ प्रतिशतमा झरेको थियो । बैंकहरूले बोलाइबोलाई पैसा दिए । ब्याज कम हुँदा लगानी बढ्छ । तर, सबै उत्पादनमूलक क्षेत्रमै लगानी हुन्छ भन्ने हुँदैन । धेरै पैसा अनुत्पादक क्षेत्र र उपभोगमा गयो । अहिले पनि आयातमा गइराखेको अधिकांश रकम उपभोग्य बस्तुमा खर्च भइराखेको छ । ब्याजदर धेरै कम हुनु अर्थतन्त्रका लागि राम्रो होइन । अहिलेजस्तो १२/१४ प्रतिशत ब्याजदरले पनि लगानीलाई प्रोत्साहन गर्दैन । ८/९ प्रतिशत हाराहारीको ब्याजलाई पूँजीको सन्तुलित खर्च मानिन्छ । सरकारले यसमा नीतिगत प्रबन्ध गर्नुपर्ने थियो, त्यो हुन सकेन । कुनै बेला छाडा छोड्ने र अलिकति असहज हुनेबित्तिकै कस्ने नीतिले सन्तुलनमात्र बिग्रिँदैन, संकटलाई निम्तो दिन्छ । वैदेशिक रोजगारीबाट आउने विप्रेषण घट्नुलाई सञ्चितिमा अप्ठ्यारोको कारण मानिएको छ । तर, चालू वर्षकै ८ महीनामा ६ खर्ब ३१ अर्ब रुपैयाँ विप्रेषण आएको छ । यो रकम अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ११ अर्ब रुपैयाँमात्रै काम हो । यति झीनो कमीले अर्थतन्त्र नै डामाडोल हुने हो त ? पक्कै होइन । वैश्विक व्यापार शृंखलाको मूल्यवृद्धिले विदेशी मुद्राको सञ्चिति असहज बनेको हो । नेतृत्वमा इमानदारी हुने हो भने यसलाई सही बाटोमा ल्याउन सकिन्छ । वैदेशिक रोजगारी, पर्यटन र निर्यात विदेशी विनिमय अभिवृद्धिका आधार हुन् । रोजगारीमा जानेको संख्या घटेको छैन, आयमात्रै केही घटेको हुनाले आत्तिइहाल्नुपर्ने छैन । यसलाई कसरी औपचारिक माध्यममा बढी केन्द्रित गर्ने ? त्यो नीति अवलम्बन गरिनुपर्छ । नेपालको २ तिहाइ व्यापार र ९० प्रतिशत ढुवानी भारतमा आधारित भएकाले भारतसितको व्यापार भारतीय रुपया (भारू)मा गर्दा अमेरिकी डलरमाथिको निर्भरता कम हुन सक्छ । भारू आर्जनका लागि भारतीय पर्यटक मुख्य आधार हुन सक्छन् । यसका लागि भारतीय मुद्रा लिएर आउजाउमा सहज नियमदेखि भारतीय मुद्रामै बैंक खाता खोल्नेसम्मका उपाय अपनाउन नसकिने होइन । सरकारले अमेरिकी डलरमा खाता खोल्न आग्रह गरिराखेकै छ । अहिलेको असहजता आन्तरिक उत्पादन अभिवृद्धिसँगै निकासी प्रवर्द्धनको मौका पनि बन्न सक्दछ । यसका लागि सहुलियतसहितको गुणस्तरीय उर्जा, पूँजीको उचित लागत, ढुवानीको खर्च न्यूनीकरण, दक्षता र उत्पादकत्वमा आधारित श्रमको व्यवस्था र लगानीसँग सरोकार राख्ने नियम कानूनमा स्वविवेकीय अधिकारको अन्त्यजस्ता प्रतिस्पर्धी आधारको प्रत्याभूति अनिवार्य शर्त हुनेछन् । होइन भने आर्थिक सरोकारमा अति राजनीतीकरणले अर्थतन्त्रलाई साँच्चीकै गम्भीर दुर्घटनातर्फ डोर्‍याउनेमा किन्तुपरन्तु आवश्यक छैन ।