बाँडफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सको आईपीओ डिम्याट खातामा

काठमाडौं । बाँटफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्स आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलवार कम्पनीको शेयर डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।  शेयर डिम्याट खातामा आएसँगै यी शेयर नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको स्टक सिम्बोल एचआरएल रहेको छ ।  कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरेको छ।  यससँगै  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ।  

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी थपिँदै, कुन कम्पनीले पाउँछन् यो सुविधा ?

काठमाडौं । पछिल्लो समय प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिन थालेपछि कतिपय निजी क्षेत्रका कम्पनीले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराएर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । कतिपयले भने साधारण सभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्ने भएका छन् ।   प्रिमियममा शेयर निष्कासन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन् । दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न उत्साहित भएको देखिन्छ ।  शिवम् होल्डिङ्ग्स लिमिटेड प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिसकेको छ । कम्पनीले १६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको हो । त्यस्तै जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारण सभा आयोजना गरेको छ । त्यस्तै जगदम्बा स्टिल्स र ह्याम्स अस्पताल पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिइसकेका छन् । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ह्याम्स अस्पतालले अंकित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  चालू आर्थिक वर्ष (आव)मा सेबोनले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालनयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ । सोनापुर मिनरल्सको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सूचीकृत प्रक्रियामा छ ।  त्यस्तै सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाइसकेको छ । यस कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गर्न लागेको हो ।  सोनापुर मिनरल्सको शेयर मूल्य बुधवार प्रतिकित्ता रू.४८२ दशमलव ९० कायम भएको छ । यस कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।  गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा शेयर निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।  पछिल्लो समय सेबोनले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको कम्पनीको बारेमा संसदको लेखा समितिमा कुरा उठेको थियो । समितिमा कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाएका थिए ।  त्यसपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउँछन् भने प्रश्न उठाउन थालेका छन् ।  कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ? धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ । ‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।’ कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ? धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

हिमालयन रिइन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको हो, जसमा एक जनाले ४० कित्तासम्म पाएका छन् । १० कित्तादेखि ३० कित्तासम्म माग गर्नेलाई मागअनुसार नै आईपीओ बाँडफाँट गरिएको छ । ३० कित्ताभन्दा बढी आईपीओ माग गर्नेमध्ये २९ हजार २१ जना भाग्यमानी आवेदकहरूले थप १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम गर्ने जिम्मेवारीसमेत पाएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी दिनमा धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी एनएमबि क्यापिटललाई दिने निर्णय गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरी पुस ११ गते बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरू र २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधवार बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको आईपीओ पुस ११ गते बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त दिन बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित ताज रिसेप्सनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीको आईपीओ सबै आवेदकले पाउनेछन् । कम्पनीको आईपीओ खरीदका लागि साढे १६ लाख ६० हजारभन्दा बढीले आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम गर्नेछ । हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।