काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर २ हजार १ सय दशमलव ३४ विन्दुमा झरेको छ ।
मौद्रिक नीतिपश्चात परिसूचक लगातार पाँच कारोबार दिन ओरालो लागेको छ । आइतवार २२ सयभन्दा माथि पुगेको नेप्से २१ सय विन्दुमा झरेको छ ।
मौद्रिक नीतिमार्फत गरिएको शेयर कर्जाको जोखिम भार ५० लाखसम्मको लागि मात्र शतप्रतिशत व्यवस्था गरेपछि बजारमा विक्रेता हाबी हुन थालेका छन् । विशेषगरी यो प्रावधानबाट ठूला लगानीकर्ता प्रभावित भएको जानकारहरू बताउँछन् । सोही कारण बजार दिनहुँ घटिरहेको छ ।
यद्यपि कतिपय लगानीकर्ताहरूले भने अनावश्यक भ्रम छर्ने गरी बजार प्यानिक बनाइएको अभिव्यक्ति दिएका छन् । अहिलेको मौद्रिक नीति पहिलेभन्दा राम्रो र सहज बनाउने खालको रहेको उनीहरूको भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०९ प्रतिशत घटेको छ ।
कारोबारमा आएका २६६ धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार ३२७ पटकमा रू. २ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी पिपुल्स पावरको शेयर मूल्य ३ दशमलव ५६ प्रतिशत बढेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. २६१ दशमलव ९० पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सुपर माई हाइड्रोपावर कम्पनी छ । यससँगै कम्पनीको शेयर मूल्य ३ प्रतिशत वृद्धि भएर रू. ६१७ दशमलव ३० पुगेको छ ।
आइतवार सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ७८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको दोस्रोमा अभियान लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ५७ प्रतिशत घटेर रू. ७४० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. १४ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. ११ करोड ९९ लाख बराबरको भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव ३२ प्रतिशत घटेको छ ।