घार लाग्ने भयो

साँचो बोली सुन्दा खार लाग्ने भयो हावादारी कुरा गर्ने पार लाग्ने भयो।। लखेटिनु पर्ने चाहिँ घर घरमा आए मन पराएकालाई जार लाग्ने भयो।। यताका ताने उता उताका ताने यता तानतुनले मैदानमा बार लाग्ने भयो।। हारजितको खेलमा दाम गयो कता महंगीको तरवारमा धार लाग्ने भयो।। घुमिफिरि आउँछ आखिर उहि रुपको मह नपार्ने खालको घार लाग्ने भयो।।

सम्बन्धित सामग्री

मास्टरी पेसापछिको मौरीपालन : मासिक ३० हजार घरमै बसेर आम्दानी

कास्की । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुन् । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उनी व्यावसायिक कृषि कर्ममा लागेका हुन् । शर्माले अन्जली बिई कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पालेका छन् । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उनले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाए हुन् । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लगेका छन् । मास्टरी पेसाबाट डेढ वर्षअघि अवकाश लिएसँगै घरमा बेकामे भएर बस्नुभन्दा कृषि कर्ममा लाग्ने सोच बनाएर मौरीपालनतिर हानिएको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शसुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएको थिएँ । थोरै संख्यामा घार राख्दा पनि रामै्र मह उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इस्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय बिताउनुभन्दा राम्रो कमाइ हुने देखेर मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएँ ।’ धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’ लगानी थोरै, आम्दानी धेरै मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनी भन्छन्, ‘मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।’ शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् । मौरीसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनले कामदारसमेत राखेका छन । शर्माका अनुसार हाल मह १ हजार ५ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले सुनाए ।  महको माग बढी भए पनि यसका चाका बिक्री कम हुने गरेको उनले बताए । मौरीसँगै बाख्रापालन शर्माले गत वर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । त्यसभन्दा पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहँुको बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उनले बताए । शर्माले भने, ‘सुरुमा स्थानीय प्रजातिको बाख्रालाई क्रस गराएर पालेको थिएँ । स्थानीय बाख्र पालन सोचेजति सफल भएन । त्यसपछि प्राविधिकको सल्लाहमा बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पालन सुरु गरेपछि सोचेजस्तै राम्रा भएको छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।’ व्यावसायि रूपमा बाख्रापालन सुरु गरेपछि कामदार राखेर काम गर्दै आएको शर्माले बताए । पछिल्लो समय युवाहरू आप्mनै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि रोजगारी खोजीमा बिदेसिने गरेको गुनासो उनको छ । शर्माले भने, ‘आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन प्रशस्त सम्भावना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरू ३० हजार कमाउन खाडी मुलुक भासिने गरेका छन् ।’

पौवादुङमा गाउँपालिकाद्वारा कृषकलाई ६ हजार फलफूलको बिरुवा वितरण

असार १७, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकहरुलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले एभोकाडोका ६ हजार बिरुवा वितरण गरेको हो  । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको बिरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए ।   गाउँपालिकाको वडा नं–५ सानोदुम्मा र वडा नं–६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानहरुलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्यस्तै श्यामशिलालाई किवी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको अध्यक्ष राईको भनाइ छ  । अध्यक्ष राईले भने, ‘गाउँपालिकामा भौतिक निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीसँगै विविध क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाको भुगोलको आधारमा पटेक क्षेत्र छुट्याएर नतिजामुखी काममा गाउँपालिका लागेको छ । यसले यहाँका स्थानीयको आर्थिक विकासमा टेवा पुग्नेमा हामी आशावादी छौँ ।’ गाउँपालिकाले गत वर्ष चार हाजर एभोकाडो र तीन हजार कागतीको बिरुवा वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । यसवर्ष ७७ घार गोलासहितको मौरी वितरण गर्ने काम सम्पन्न भएको उनले बताइन् । त्यस्तै पकेट क्षेत्रको रुपमा विस्तार गरिएको ठूलोदुम्मामा करीब ८० घार मौरीसहित मौरीपालनको लागि आवश्यक पर्ने यन्त्र उपकरणसमेत वितरण गरिने गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।  गाउँपालिकाले कृषिमा लाग्ने कृषकलाई प्रोत्साहन गर्न आर्थिक तथा प्राविधिक सहयोगसँगै साना सिँचाई अन्तर्गत प्लाष्टिक पोखरी निर्माण लगायतका काम पनि गर्दै आएको कृषि शाखाले जानकारी दिएको छ । त्यस्तै बाख्रापालनमा लागेका कृषकलाई उन्नत बोयर जातको बोकासमेत वितरण गरेको छ ।