जेठ ३१, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि दुबै कम्पनीले असार २१ गते साधारण सभा बोलाएका छन् । इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले वार्षिक साधारण सभा गर्न लागेका हुन् ।
इन्फिनीटी लघुवित्तले असार २१ गते कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोटमा बिहान ९ बजे गर्ने जानकारी दिएको छ ।सभाले यस इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गर्नेछ ।
सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनको आधारमा तय भएको १ः ०९८ शेयर स्वाप रेशियोमा प्राप्ति कार्यलाई अन्तिम स्वीकृती दिने प्रस्ताव पारित गर्नेछ । नेपाल एग्रोको १०० कित्ता शेयर बराबर इन्फिनीटीको ९८ कित्ता शेयर हुने गरी प्राप्ति हुन लागेको हो ।
प्राप्तिपछि इन्फिनीटी लघुवित्त वित्तीय सस्थाको नामबाट कारोबार हुनेछ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार ८ गते बन्द रहने बताएको छ ।
त्यसैगरी नेपाल एग्रो लघुवित्तले सभा सिटिस्क्वाएर प्रालि पोखरामा बिहान ९ बजे हुन लागेको बताएको छ । सभाले कम्पनीको आव २०७६ / ७७ को को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्राप्ति प्रक्रियाका लागि हाल उक्त कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।