टुँडिखेलमा सत्तापक्ष र प्रतिपक्षको हातेमालो !

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो भएको सायदै सुनिन्छ । तर, काठमाडौंको टुँडिखेलमा बिहीवार यस्तो दुर्लभ दृश्य देखियो ।  सुदूरपश्चिमेलीको पर्व गौराका अवसरमा टुँडिखेलमा सत्तापक्ष (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) र संसदको प्रमुख प्रतिपक्ष (नेकपा एमाले)का नेताहरूले हातेमालो गरे ।  यो हातेमालो सत्ताका लागि भने थिएन । गौरा पर्वका अवसरमा आयोजित देउडा खेलमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले नेता भीम रावललगायतले हातमा हात मिलाएर देउडा खेले । संसदका तीन ठूला दलका नेताहरूले सँगसँगै देउडा खेलेको देख्दा उपस्थित सबै दंग थिए ।  सुदूरपश्चिमेलीहरूले मनाउने गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा बिहीवार गौरा पर्वसम्बन्धी कार्यक्रम आयोजना गरियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री देउवाले गरेका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवासँगै अन्य राजनीतिक दलका नेताहरू पनि उपस्थित थिए ।