सन् २०२३ लाग्नेबित्तिकै चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई घुम्न जान दिने निर्णय दुई चरणमा गरेको छ । उनीहरूलाई ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्पmत समूहमा विदेश भ्रमण गर्न जाने अनुमति दिएको हो । सन् २०१९ को अन्त्यतिर शुरू भएको कोभिड–१९ महामारीको ३ वर्षपछि चीन सरकारले दुई चरण गरेर ६० ओटा देशमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जाने अनुमति दिएको छ ।
पहिलो चरणमा विश्वका २० ओटा देश छानेर अनुमति जारी गरेको थियो । थाइल्यान्ड, इन्डोनेशिया, कम्बोडिया, श्रीलंका, माल्दिभ्स, मलेशिया, फिलिपिन्स, सिंगापुर, लाओस, युनाइटेड अरब इमिरेटस् (युएई), इजिप्ट, केन्या, रूस, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, हंगेरी, न्यूजील्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् । यी देशमा देशमा गएको फेब्रुअरी ६ तारीखदेखि चिनियाँ पर्यटक समूहमा घुम्न जान थाले ।
त्यस्तै गरेर चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दोस्रो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जान पाउने विश्वका ४० ओटा देशको नाम सार्वजनिक गरेको छ । तिनमा नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, मौरिसस, नामिबिया, जिम्बाबे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, आइसल्यान्ड, अल्वानिया, इटली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोगा, सामोआ, ब्राजिल, चिली, डोमिनिका, एलसाल्भाडोर, रिपब्लिक अफ मोमिनिका, फ्रान्स, ग्रिस, स्पेन, उरूग्वे, पनामा, बहामास रहेका छन् । यी देशमा गएको मार्च १५ देखि चिनियाँ नागरिकहरू ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्फ समूहमा भ्रमण गर्न जान थालिसकेका छन् ।
चीन सरकारले पहिलो चरणमा विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जाने अनुमति दिएको देशमा नेपाल परेको थिएन । तर, दोस्रो चरणको सूचीमा भने नेपाल परेको छ । हालसालै एकै पटक १ सय ८० जना चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल भ्रमण गर्न आएका छन् । जुन पर्यटक समूहलाई नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आदिले स्वागत गरेका थिए । एकैपटक नेपालमा १ सय ८० चिनियाँ पर्यटकलाई विमान चार्टर गरेर नेपाल भ्रमण गराउने ट्राभल कम्पनी बिग माउन्टेन ट्राभल हो । निश्चय नै यसले चिनियाँ पर्यटक नेपाल आउनका लागि सकारात्मक सन्देश दिएको छ ।
केही समयअघि चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध संस्था चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ५५ मिलियन चिनियाँ पर्यटक विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । ती मध्ये १ प्रतिशतलाई नेपालतर्फ आकर्षित गर्न सकेमा पनि १० लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने देखिन्छ । तर, त्यसका लागि हामीले गर्नुपर्ने धेरै कामहरू तत्काल गर्न नसकिने अवस्था छ ।
कोभिड–१९ पछि को ३ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । जस्तै सन् २०२० मा नेपालमा १९ हजार २५७ जना चिनियाँ पर्यटक आएका थिए भने सन् २०२१ मा केवल ६ हजार १९८ जना मात्रै । त्यस्तै सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च महीनामा क्रमशः १४ सय ३६, २२ सय ३२ चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् ।
खासमा चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिन थालेको हो । त्यस वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आएका थिए । त्यसयता नेपाल भ्रमण गर्न आउने चिनियाँहरूको संख्या लगातार बढिरहेको थियो । स्मरण रहोस्, सन् २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ जना, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६५ जना, सन् २०१६ मा १ लाख ४ हजार पाँच जना, सन् २०१५ मा ६४ हजार ५ सय ७५ जना, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।
अब हामीले केकसो गरेर हुन्छ केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीनलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १ दशकदेखि चिनियाँ पर्यटक विश्वभरिका साना–ठूला देशका लागि आकर्षक र पहिलो नम्बर (धेरै संख्यामा विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का पर्यटकका रूपमा रहेका छन् । तथापि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकचाहिँ खासै खर्चिलो नरहेको भन्ने पर्यटन क्षेत्रका व्यवसायीहरूको भनाइ रहेको छ । त्यसैले हामीले अब चिनियाँ पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm ध्यान दिनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा धेरै खर्च गर्ने तिनै चिनियाँ पर्यटकले नेपालमा किन कम खर्च गर्छन् ? यो प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।