छोटकरीमा यस हप्ता : भदौ २७ गतेदेखि असोज ०३ गतेसम्म (राष्ट्रिय)

यस हप्ता (भदौ २७-असोज ०३ गते) भित्र राष्ट्रियस्तरमा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा एकैचोटी थाहा पाउनुहोस्।

कोरोना स्थिति विवरण

गत शनिबारसम्म ५३,१२० जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार ६२,७९७ पुगेको छ।

गत शनिबारसम्म कोरोना भाइरसका कारण ३३६जनाको मृत्यु भएकोमा यस शनिबार ४०१

पुगेको छ।

गत शनिबार सम्म ३७,५२४ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ४५,२६७ पुगेको छ।

यस्तै, हालसम्म ९,०४,७०६ जनाको पिसीआर टेस्ट भएको छ भने ७,७३५

जना क्वारेन्टाइनमा रहेका छन्।


कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो। सैनिक जनसम्पर्क निर्देशनालयले आइतवार यस कुराको पुष्टि गरेको हो। 
  • विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट सोमबारसम्ममा विदेशमा रहेका दुई सय ४३ नेपालीको निधन भएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत एक सातामा मात्रै विभिन्न मुलुकमा ४३ जना नेपालीको निधन भएको थियो। एनआरएनएका अनुसार १६ देशमा नेपाली नागरिकको कोरोनाका कारण मृत्यु भएको हो। 
  • प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका थिए। शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
  • भारतले नेपाललाई कोरोनाविरुद्ध लड्न दुई हजार भाइल रेम्डेसिभिर उपहारस्वरूप प्रदान गरेको थियो। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार भाइल रेम्डेसिभिर औषधि हस्तान्तरण गरेका हुन्। 
  • मकवानपुरमा नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० बेडको आइसोलेसन तयार पारिने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा सोमबार बिहान बसेको बैठकले कोरोना संक्रमणपछि लक्षण देखिएका संक्रमितलाई राखेर तत्काल उपचार सेवा प्रदान गर्न सेनाका विभिन्न ब्यारेकमा ९० बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
  • हिमाली जिल्ला मनाङमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार एकजना स्थानीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको थियो। 
  • नियमित तलब र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। विभिन्न मितिमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले २६ भदौदेखि स्वास्थ्य सेवाबाहेक सबै कार्य बन्द गरी आन्दोलनमा उत्रिएका हुन्। 
  • सरकारले यो वर्ष संविधान दिवसको अवसरमा करिब ६ जनालाई विभिन्न प्रकारका विभूषण दिने भएको थियो। विभूषणमा कोभिड–१९ रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको हो
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए। आफ्नो निजी सचिवालयमा कार्यरत एकजनामा कोरोना पाेजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्न थालेका थिए। 
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट उप्लब्ध गराउने भएको थियो। स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ४९ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराउने जनाएको हो।
  • पहाडी जिल्ला गुल्मीमा कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ। प्रयोगशालाको बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन्।
  • बिहीबारदेखि सरकारले यातायात व्यवसाय सञ्चालन गर्न सकिने निर्णय गरेपछि यात्रुसँगै सवारीधनी तथा चालकहरु उत्साहित भएका थिए। लकडाउनका कारण झण्डै ६ महिनासम्म गाडी नचलेपछि गाडी चालक शिवराज विश्वकर्मालाई खर्च टार्नै मुस्किल परेको थियो।
  • प्रदेश ५ सरकारले ६ जिल्लाका अस्पताललाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो । निर्णय भएका अधिकांश अस्पताल अहिले १५ बेडका छन्। 
  • कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। देउवा, पत्नी आरजु राणा, स्वकीय सचिव भानु देउवा लगायत परिवारका सदस्य तथा सहयोगीको कुपण्डोलस्थित विध ल्याबमा शुक्रबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना भाइरस नियन्त्रण सम्बन्धमा माग एवं निर्णयहरू :

  • अध्यागमन विभागले कोरोना भाइरसका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट शुरु गरेको थियो। विभागले सेवा शुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने भएको हो।
  • मकवानपुर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्‍न ब्यारेकमा ९० श्य्याको आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको थियो। संक्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पुर्‍याउने उद्देश्यले सो आइसोलेसन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
  • सार्स–कोभ–२ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि गरिने आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएका १३ मध्ये १२ वटा निजी प्रयोगशालाहरुले सरकारले आइताबार घटाएर कायम गरेको शुल्क २ हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका थिए। यस्तै परीक्षणको गुणस्तरका बारेमा ख्याल नै नगरी अन्य कमसल परीक्षण प्रविधिलाई बढावा दिने बहानामा पीसीआर शुल्क घटाएको आरोप पनि भेलाले लगाएको थियो। 
  • सरकारले असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्टहरू संचालन, आन्तरिक उडान खुला एवं लामो दूरीको यातायातका सवारीसाधन खुला गर्ने निर्णय गरेको थियो। यससँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने बताएइको हो।
  • सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो। बैठकले शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका थिए।
  • चीनले नेपालको कोभिड-१९ महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग गरेको थियो। मंगलबार बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग भएको भेटवार्तामा नेपालको महामारीमा अझै सहयोग गर्ने चीनको प्रतिबद्धता आएको हो।
  • सभामुख अग्नि सापकोटाले कोभिड–१९ ले निम्ताएको संकटमा सबै मिलेर लड्नुको विकल्प नरहेको बताएका थिए। नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदसँग मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गर्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन्। उक्त भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सापकोटाको निजी सचिवालयद्वारा जारी विज्ञप्प्तिमा भनिएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाइने भएको थियो। इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो।
  • सरकारले बिहीबारबाट लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउन अनुमति दिएको थियो। कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ६ महिनासम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन्। तर, दशैैँको मुखमा लामो दूरीको सवारीसाधन सञ्चालनमा ल्याउँदा झनै जोखिम बढ्ने सक्ने भन्दै आलोचना पनि हुँदै आएको छ।
  • मुस्लिम धर्मावलम्बीहरूका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको धर्मअनुसार मृत्युपछि शव व्यवस्थापन गरिने ठाउँ) को खोजी गरिने भएको छ। कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भूमा रहेको एक मात्रै कब्रिस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो।
  • नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा अलपत्र परकाहरूलाई दशैँअघि नै उद्धार गर्न माग गरेकी थिइन्। उनले त्यसरी अलपत्र परेकाहरूलाई स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन्। 
  • सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका थिए। विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरुले सरकारको यो व्यवस्था नमान्ने बताइएको हो।
  • सरकारले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली PCR परीक्षण नगर्न र नगराउन निर्देशन दिएको थियो। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको थियो। यस्तै, PCR परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिन प्रयोगशालालाई आग्रह गरेको थियो।
  • कोभिड-१९ का कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन्। नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन्। सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि प्रशासन र स्थानीय तह मिलेर काम गर्न निर्देशन दिएका थिए। शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय आइपुगेका मन्त्री ज्ञवालीले सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेकोले स्वास्थ्य जोखिम बढ्ने भन्दै त्यसविरुद्ध मिलेर काम गर्न निर्देशन दिएका हुन्।

यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • नापी कार्यालय कास्कीको सहयोगमा पोखरा महानगरपालिकाले फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ। उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए।
  • नेकपा ताप्लेजुङकी सदस्य तथा एक नम्बर प्रदेशसभाकी सदस्य होमकुमारी साँवालाई पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ। सामाजिक सञ्जालमा एक युवतीलाई अपशब्द प्रयोग गरेकाले साँवालाई निलम्बन गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भास्कर काफ्लेले जानकारी दिए।
  • कोटेश्वर–जडीबुटी सडकखण्डमा जाम घटाउन चारबाट आठ लेन निर्माणको काम शुरु भएको छ। सडक विभागले पाँच सय मिटर सडकमा थप चार लेन विस्तारका लागि ट्र्याक खोलिसकेको छ। सडक विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब साढे सात रोपनी जग्गा निःशुल्क अधिग्रहण गरी कोटेश्वर–जडीबुटीतर्फ एक लेन र जडीबुटी–कोटेश्वरतर्फ तीन लेन विस्तार गर्न ट्रयाक खोलेको हो।
  • सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको थियो। राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। उनको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको थियो।
  • नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन-५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टीमातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको बताए। यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन- ५ जारी गरिएको हो। 
  • नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको थियो।प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो। घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन्।
  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको थियो। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन्।
  • नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्य आफैँ लागेर दलित समुदायमाथि अत्याचार गर्न थालेको बताएका थिए। संविधान र कानुनले विभेदको अन्त्य गरे पनि सरकारले त्यसको कार्यान्वयन नगर्दा दलितमाथि अत्याचार विभेदमा मात्रै सीमित नभएर हत्यासम्म पुग्न थालेको उनले बताएका हुन्। 
  • नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट राष्ट्रिय सभा सांसदको शपथ लिएका थिए। उनले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति, नेपालको संविधान र नियमावलीबमोजिम राष्ट्रिय सभामा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका हुन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका थिए। विपिन अधिकारीद्वारा सम्पादित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्।
  • सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आवश्यक परेको खण्डमा केही बुँदा सच्याएर वा हटाएर भएपनि एमसीसी सम्झौता अनुमोदन हुने बताएका थिए। पार्टीको स्थायी समिति बैठकले पनि सम्झौताका केही बुँदा परिमार्जन गरेर भएपनि अनुमोदन गर्ने निर्णयको उनले बताए।
  • संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका थिए । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता थियो। संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
  • जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका थिए। ‘पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै यादवले भने, ‘संविधानले दिएको अलिअलि अधिकार पनि ऐन बनाएर खोसिएको छ।’
  • नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका थिए। कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ।

यस हप्ताका आर्थिक एवं न्यायीक गतिविधिहरू :

  • सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो।
  • देशका विभिन्न जिल्लामा काटिएका रूख, तिनमा भएको अनियमितता र उत्पन्न समस्या पहिचान गर्न गठित छानबिन समितिले रोक्का गरिएको सालको काठको ढुवानी र ओसारपसार खुलाउन सरकारलाई सुझाव दिएको छ। समितिले दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा प्रतिवेदन बुझाउँदै जेठ १५ पछि रोकिएका साललगायत प्रजातिका काठको ओसारपसार खुला गर्न सुझाएको हो। 
  • सरकारले नेपाल राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन स्वीकृति दिएको छ। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्र बैंकलाई नयाँ नक्सा अंकित १ र २ रुपैयाँको सिक्का निकाल्न स्वीकृति दिने निर्णय गरेको बताएका हुन्। यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना गर्न दिने निर्णय पनि गरेको छ।
  • सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।
  • प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ। संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन भन्दै‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो। 
  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन्।
  • समाजिक पञ्चायतीका नाममा बलात्कारका घटना दबाउन खोज्दा सप्तरीमा एक बलात्कृत किशोरीले आत्महत्याको बाटो रोज्‍न बाध्य भएकी छिन्।सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षीया ती किशोरीले बलात्कृत भएपछि न्याय नपाउँदा झुण्डिएर आत्महत्या गरेकी हुन्।
  • मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटै परिवारका तीन जनाको शव भेटिएको प्रकरणमा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई पोष्टमार्टमको रिपोर्टले पनि पुष्टि गरेको छ। ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको भदौ २६ (शुक्रबार) साँझ घरभित्रै शव फेला परेको थियो। पत्नी र छोराको सुतेकै अवस्थामा धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका थियो।
  • पछिल्लो समय मुलुकका विभिन्‍न जिल्लामा प्रहरी हिरासत भएकामा व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले उपसमिति गठन गरेको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले देशका विभिन्न प्रहरी कस्टडीमा भएको मृत्युको विषयमा हत्या वा कसरी गैरन्यायिक हत्या भयो भन्‍ने सम्बन्धमा अध्ययनका लागि समिति बनाउने निर्णय गरेको हो।
  • कृषि मल कारखाना स्थापनाको काम अगाडि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपालमै कृषि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। 
  • कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको दोहोर्‍याएका छन्। समयमै मल ल्याएर किसानलाई वितरण गर्ने मन्त्रालयको योजना ठेकेदारहरूका कारण असफल भएको बताउँदै आएका मन्त्री भुसालले संसदीय समितिमा पनि उक्त कुरा दोहोर्‍याएका हुन्।

यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • सोमबारदेखि चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसेका छन्। जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो। नेपालीहरुको नि:शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए।
  • भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार पारेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरेका हुन्। 
  • यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ। कोभिड– १९ का कारण वैशाखमा पठनपाठन सुरु हुन नसके पनि शैक्षिक सत्रको अन्त्य चैत मसान्तमै हुने शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन्। कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए। कोेभिडका कारण अवरुद्ध भएको नियमित पठनपाठन सुचारु गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले गत १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो।त्यसका आधारमा १ असारदेखि वैकल्पिक कार्यक्रम सञ्चालन भएको थियो। १९ भदौमा अर्को ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेको छ। विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले दूर तथा खुला शिक्षालाई औपचारिक मान्यता दिएको छ। 
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ। कुल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षामार्फत, विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ।
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालसँग भएका ९० हजार वैज्ञानिकहरुको परिचालन आवश्यक भएको बताएका छन्। विज्ञान दिवसको अवसर पारेर बुधबार बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको वेबसाइट सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले मुलुकमा भएका ९० हजार वैज्ञानिकहरुको प्रवर्द्धन तथा व्यवस्थित परिचालन आवश्यक रहेको बताए।
  • लकडाउन र निषेधाज्ञा सकिएसँगै स्कुल–कलेजहरू अब कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने बहस हुन थालेको छ। कोरोना (कोभिड–१९) संक्रमण र जोखिम नघटे पनि अब कोभिडसँगै दैनिकी चलायमान बनाउन सर्वसाधारण तयार हुँदै गएका छन् । यही मान्यतालाई विद्यालय–कलेजले पनि जोड दिइरहेका छन्।

विविध :

  • दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा हुने भएको थियो।
  • सोमबार सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिएको थियो। मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको हो।
  • भदौ १७ गते ढोरपाटन नगरपालिका–९ मा आएको बाढीपहिरोले सडक र बस्ती क्षतविक्षत छन्। दुई साता बित्दा पनि पीडितले पर्याप्त राहत पाउन सकेका छैनन्। उनीहरू ओतसम्म नपाएर बिचल्लीमा छन् । मृतकका परिवार शोकमग्न छन् भने बेपत्ताका परिवार सास न लासको अवस्थामा छन्। शव नभेटिँदा उनीहरूले प्रशासनबाट पाउने राहतसमेत पाउन सकेका छैनन्।
  • १२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ। सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न समस्याले ४१ प्रतिशत मात्र काम सम्पन्न भएको हो।
  • एउटा इन्जिन र चारवटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे २ बजेतिर जनकपुर आइपुगेकाे थियो। नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर रेल स्टेसन आइपुगेकाे रेलका तस्बिरहरू र भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
  • गाँजा तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई चितवन प्रहरीले शुक्रबार सार्वजनिक गरेको थियो। चितवन जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ आँपपानीका २५ वर्षीय दोर्जे तमाङ र सोही ठाउँका २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन्।
  • सरकारका अनुसार प्राकृतिक प्रकोप बाढी, पहिरो र चट्याङका कारण मुलुकका ४९ जिल्लाका ३७४ जनाले ज्यान गुमाएका छन् भने १०१ बेपत्ता भएका छन्। विपद् जोखिम व्यवस्थापन कोषबाट निकासा गराएर ५ करोड ६९ लाख राहत रकम तत्काल उपलब्ध गराइएको बताइएको छ।

सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक