छोटकरीमा : आज- २०७७ कार्तिक २४, सोमबार

आज बैठक राख्न नेकपा अनुशासन आयोगको आग्रह, देशको नाम 'नेपाल' मात्रै राख्ने निर्णयप्रति सांसदहरूको भनाइ, गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती विशेष, राष्ट्रपति पदबाट हटेपछि के ट्रम्प जेल जान सक्छन् ? लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।

सोमबार २,५७१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,९७,०२४ पुगेको छ भने मृत्यु हुनेको संख्या १,१२६ पुगेको छ। हालसम्म नेपालमा १,५९,७२४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ११,१७७ => Recovered Today: १,७९८


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले विगतका विभाजनबाट शिक्षा लिनुपर्नेमा जोड दिँदै पार्टीभित्र चर्किरहेको अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टीको बैठक बोलाउन आग्रह गरेको छ । 


काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन् ।कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उनले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताएका हुन् । 


कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले व्यक्तिबीच भौतिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । तर, सरकारी निकायमै भौतिक दूरी कायम हुन नसक्दा संक्रमण फैलने जोखिम बढेको छ । 

भूमिसुधार तथा मालपोत, यातायात, आन्तरिक राजस्व, प्रशासनलगायतका सरकारी निकायमा दैनिक सयौँ सेवाग्राहीको भिड लाग्ने गरेको छ ।


संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन निर्देशन समेत दिएको छ।


चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ११ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये केही चिकित्सा शिक्षा पठनपाठनसम्बन्धी छन् भने केही नीतिगत र योग्यतासम्बन्धी छन् । आयोग तिनै मुद्दामा अल्झिनु परेका कारण अहिले एकीकृत प्रवेश परीक्षाको कामसमेत रोकिएको छ ।


आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे ।


 मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको आरोपमा पक्राउ परेका शर्मा ढुवानी सेवाका प्रोप्राइटर वासुदेव शर्मालाई प्रहरीले उनका भाइको जिम्मामा थुनामुक्त गरेको छ । प्रहरीले कात्तिक १७ गते शर्मालाई नियन्त्रणमा लिएको थियो ।


विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो ।


 काभ्रेको बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा भदौ १३ गते एकैचोटि ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसअघि नै केन्द्रमा संक्रमितको संख्या १ सय ४ पुगिसकेको थियो । सयभन्दा बढीमा संक्रमण देखिएपछि आइसोलन व्यवस्थापनमा चुनौती भयो ।


नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।


मुलुकको नाम अगाडि 'संघीय लोकतान्त्रिक गणतन्त्र' नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा स्पष्टीकरण दिएका छन् । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र लेखिँदै आएकोमा अबदेखि नेपाल मात्रै लेख्ने भनेर निर्णय गरेको थियो । 


१९९७ मा राणा शासनविरुद्धमा उहाँले शोभा भगवतीमा प्रजा परिषद्को सदस्यताको सपथ लिनुभयो । ०९७ सालमा विवाह गरेको ४ महिनामा उहाँ पक्राउ नै पर्नुभयो । २००१ सालसम्म उहाँले भद्रगोल जेलमै बिताउनुभयो । २००१ सालमा दुईवटा अग्ला पर्खाल नाघेर उहाँ भद्रगोल जेल ब्रेक गरेर उहाँ भारत प्रवासमा जानुभयो । 


 फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढेपछि युरोपेली मुलुकहरुले आफ्नो सीमा कडा पार्दै लगेका छन् । फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्या गरेलगत्तै फ्रान्समा लगातार आतंककारी हमला हुन थालेको हो । 


बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ । 

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।


 अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडनलाई आफ्नो राष्ट्रपति चुनिसकेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिन सकेनन् । यो उनको चुनावी हारमात्रै नभएर आगामी दिनमा अनेक कठिनाइ भोग्नुपर्ने देखिएको छ ।

विज्ञहरुकाअनुसार उनको कार्यकालमा भएका कथित घोटालहरुको जाँचबाट राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारबाहीका साथै अप्ठ्यारो वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ ।


अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको जितले विश्वको विभिन्न क्षेत्रमा तरंग ल्याएको छ । विशेषतः बाइडेनको जितपछि एसियन सेयर मार्केटमा धेरै प्रभाव परेको देखिन्छ । जापानमा सोमबार सेयर मार्केट खुल्दा पहिलो सत्रको ट्रेडिङमा निक्केइ २२५ बिन्दुमा पुगेको जापानिज समाचार एजेन्सी क्युडोले जनाएको छ ।


पूरै विश्व अमेरिकी चुनावको अन्तिम नतिजा पर्खिरहेका बेला ट्रम्प भने गल्फ खेल्नमा व्यस्त थिए । गल्फकै लागि विशेष पहिरनमा शनिबार उनी भर्जिनियास्थित आफ्नै कोर्समा गल्फ खेल्न पुगेका हुन् र उनको हारबारे आधिकारिक घोषणा हुँदा पनि उनी मैदानमै रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । 


कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक