छोटकरीमा : कार्तिक महिना- २०७७ (राजनीतिक घटनाक्रमहरू )

यस महिनाभरका विभिन्न राजनीतिक घटनाक्रमहरूलाई यहाँ समावेश गरिएका छन् । पेचिलो बन्दै गएको नेकपा विवाद, नेपाल-चीन सीमा विवाद, चौरासिया हत्या प्रकरण, देशको नाम 'नेपाल' मात्रै राख्ने सरकारी निर्णय र विरोध सहित अन्य राजनीतिक हलचलका सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।

स्थायी कमिटी बैठकयता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमितजसो बालुवाटार धाउँथे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा घण्टौँ कुराकानी हुन्थ्यो । र, पनि कुनै निकास निस्कँदैनथ्यो ।

प्रधानमन्त्री ओली भेट्न दिनहुँ बालुवाटार धाइरहेको देखेर कतिपयले अध्यक्ष प्रचण्डलाई ‘तारेख धाएको’ टिप्पणी पनि गरे । तर, अहिले ओली–प्रचण्डको भेटमा ‘ब्रेक’ लागेको छ ।


नेकपाको अन्तरविरोध झनै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको ओलीनिकट नेताहरू बताउँछन् । पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको ओलीपक्षको भनाइ छ ।


गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाकाे दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सामार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको छ । मृतकका भाइद्वारा प्रहरी कार्यालय पर्सामा १२ जनामाथि कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।


दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ । 

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आएका ठगुन्नाको बुधबार निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । 


 र्‍यापर समिर घिसिङ 'भिटेन' ले हालै सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

'पारा' बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।


संघीय सांसदहरुका लागि सुधारिएको लाेगाे तयार भएको छ ।

संसद सचिवालयले गत साउन अन्तिमतिर लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्सा समेटिएको लागाे तयार पारेको भए पनि त्यो विवादमा आएपछि पुन त्यसलाइ सुधारिएको हो ।


डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)ले नेपाल बार एसोसियनको निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको भन्दै डीएलएकै पूर्वअध्यक्षसहित केही वरिष्ठ अधिवक्तालाई संगठनबाट निष्कासन गरेको छ । 

डीएलएको अनुशासन समितिले डीएलएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्कासहित अधिवक्ताहरु विजयप्रसाद मिश्र र श्रीराम दवाडीलाई निष्कासन गरेको हो । 


संघीय संसद्का समितिहरूले दिएका निर्देशन सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड– १९ पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायलाई दिएको निर्देशन सरकारले पालना नगरेको पाइएको छ । 

समितिले जनताको पिसिआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधि, नियमित स्वास्थ्य जाँच उपचारलगायतका विषयमा दिएको निर्देशन पनि सरकारले पालना नगरेको पाइएको हो ।


सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । 

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए ।


प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट मात्र भएको भनेर टिप्पणी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा अत्यावश्यक कानुनहरू निर्माणमा समेत बेवास्ता गर्दै आएका छन् । प्रहरीसम्बन्धी कानुनहरू लामो समयदेखि मन्त्रिपरिषदमा थन्किएका छन् ।


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूको चाहना र जनादेशविरुद्ध हुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न आह्वान गरेका छन् । 


प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा ‘अदालतको अवहेलना’को मुद्दा सामना गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा अदालतको अवहेलना निवेदन दर्ता भएको हो ।


यस हप्ता चर्किएको नेकपा विवाद, भारतीय सेनाध्यक्ष्यको नेपाल भ्रमण, कांग्रेसको बैठक, मुकेश चौरासिया हत्या प्रकरण लगायतका विषयवस्तुबारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।


जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा मार्ने निहुँमा त कतै राहत माग्दा दलितमाथि कुटपिट भएको छ । 


उच्च अदालत पाटनले समिर लामा 'भिटेन'लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ। भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए।


चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन्। सबै स्वास्थ्य र शिक्षण संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूका भर्तीकेन्द्र बनाएर धराशायी बनाइरहेको आरोप उनको छ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले विगतका विभाजनबाट शिक्षा लिनुपर्नेमा जोड दिँदै पार्टीभित्र चर्किरहेको अन्तरविरोध समाधानका लागि अविलम्ब पार्टीको बैठक बोलाउन आग्रह गरेको छ । 


संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन निर्देशन समेत दिएको छ।


चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ११ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये केही चिकित्सा शिक्षा पठनपाठनसम्बन्धी छन् भने केही नीतिगत र योग्यतासम्बन्धी छन् । आयोग तिनै मुद्दामा अल्झिनु परेका कारण अहिले एकीकृत प्रवेश परीक्षाको कामसमेत रोकिएको छ ।


आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे ।


 मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको आरोपमा पक्राउ परेका शर्मा ढुवानी सेवाका प्रोप्राइटर वासुदेव शर्मालाई प्रहरीले उनका भाइको जिम्मामा थुनामुक्त गरेको छ । प्रहरीले कात्तिक १७ गते शर्मालाई नियन्त्रणमा लिएको थियो ।


विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो ।


नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।


मुलुकको नाम अगाडि 'संघीय लोकतान्त्रिक गणतन्त्र' नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा स्पष्टीकरण दिएका छन् । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र लेखिँदै आएकोमा अबदेखि नेपाल मात्रै लेख्ने भनेर निर्णय गरेको थियो । 


१९९७ मा राणा शासनविरुद्धमा उहाँले शोभा भगवतीमा प्रजा परिषद्को सदस्यताको सपथ लिनुभयो । ०९७ सालमा विवाह गरेको ४ महिनामा उहाँ पक्राउ नै पर्नुभयो । २००१ सालसम्म उहाँले भद्रगोल जेलमै बिताउनुभयो । २००१ सालमा दुईवटा अग्ला पर्खाल नाघेर उहाँ भद्रगोल जेल ब्रेक गरेर उहाँ भारत प्रवासमा जानुभयो । 


 प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको संवाद पनि तिक्तता बढाउँदै टुङ्गिएको छ । बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।


 भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला मंसिर ११ गते दुईदिने भ्रमणका लागि नेपाल आउने भारतीय मिडियामा खबर आए पनि नेपालको परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी नभएको बताएको छ । भारतीय मिडियामा सोमबार औपचारिक वार्ताका लागि विदेश सचिव काठमाडौँ जाने भन्दै समाचार प्रकाशित भएका थिए ।


 कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यको मंगलबारको अनौपचारिक बैठकले पनि नेकपामा उत्पन्न विवादले कस्तो मोड लिन्छ भन्ने स्पष्ट पारेन ।


 खोटाङ र भोजपुरको सिमानमा पर्ने टेम्के भ्युटावर शिलान्यासपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवादमा फसेका छन् । खोटाङ र भोजपुरका सांसद तथा नेताहरुलाई जानकारी नगराई टेम्केडाडाँमा सोमबार भ्युटावर शिलन्यास गरेको भन्दै राई विवादमा मुछिएका हुन् ।


भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) बारे बारपाक सुलीकोट र धार्चे गाउँपालिकाबीचको विवाद सुल्झिएको छ । इपिसेन्टरको विवाद उत्कर्षमा पुगेपछि सोमबार साँझ जिल्ला समन्वय समितिको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले विवाद समाधान गरेको हो ।


कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको वेला सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । 

कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 


सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो । 


 प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।


नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढिलै भए पनि सर्वोच्च अदालतले उपाध्यक्ष वामदेव गौतमलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष गौतममाथि परेको मुद्दामा आजै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । 

प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका हुन् ।


चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र  ले नेपाली कांग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेका आरोप लगाएको छ । 

चिनियाँ सैनिकले नेपाल-चीन सीमा पार गरेर हुम्लामा सीमा स्तम्भ उखेलेको र नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने ‘आधारहीन’ समाचारहरु फैलाउन पश्‍चिमा शक्ति र भारतीय सञ्‍चारमाध्यमहरु र नेपाली कांग्रेस लागिरहेको जनाइएको छ । 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीका विषयमा असन्तुष्ट रहेका पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ । 

नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए । 


पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । 


चीनको तिब्बतसँग जोडिएको बझाङको सीमामा सुरक्षा व्यवस्था नहुँदा तस्करी बढेको भन्दै प्रतिनिधिसभा सदस्य आशा विकले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । यथाशीघ्र सीमामा सुरक्षा निकायको उपस्थिति हुने वातावरण मिलाउन गृह मन्त्रालयलाई सांसद विकले अनुरोध गरेकी हुन् । 


संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंसिर दोस्रो साताभित्र बोलाउने निर्णय गरेको छ ।


घरजग्गा नभएका बाजुराका १५ परिवार मुक्त हलियालाई सरकारले एकैठाउँमा जग्गा किनेर बस्ती बसाउने योजना बनायो । उनीहरूका लागि आर्थिक वर्ष ०७१–७२ मा ६७ लाख ५० हजार रुपैयाँ विनियोजन भयो । 


अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मा राजदूतमा अनुमोदन भएका छन् ।


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ । भोलिको सचिवालय बैठकका लागि रणनीति तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू खुमलटारमा अनौपचारिक बैठक बसेका छन् ।


 भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालेको छ । पहिलो चरणमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सय वटामा आयोगले काम अगाडि बढाउनेछ । सोहीअन्तर्गत आयोगले बिहीबार एक कार्यक्रम गरी केही स्थानीय तहसँग सम्झौता गरेको छ ।


प्रमुख प्रतिपक्षी दल कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशील सदस्यता वितरणको म्याद मात्रै परिवर्तन गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको हो । 


 सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्‍चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । कोभिड—१९ बाट संक्रमित सञ्‍चारकर्मीहरुको सरकारले नि:शुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिवद्धता पनि उनले जनाए ।


 नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि यसपालि दाहालले एक्लै प्रतिवेदन पेश गरेका छन् ।


 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पार्टीभित्रको सङ्कट निवारणका लागि तत्काल बैठक बोलाउनुपरेको बताएका छन् । पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको सङ्कट तथा कष्टको समाधान गर्नु आजको आवश्यकता भएकाले यी विषय बैठकमा छलफल गर्नुपर्ने सचिवालय सदस्यहरूले बताएका छन् ।


 प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दस पृष्ठ लामो प्रत्युत्तर पत्र लेखेका छन् । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई बैठक बोलाउन सहमति दिन भन्दै दुई पृष्ठ लामो पत्र बुझाएका थिए ।


नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको हो ।


स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवार बनाउन १८बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराउने भएको छ । कतिपयले मन्त्रालयको निर्देशनसमेत नमान्ने र आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो योजना बनाएको हो । 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक