छोटकरीमा : यस हप्ता ( राजनीति)

यहाँ नेकपा किचलोले निम्ताएको ओली सरकारको भविष्य, चामल अनियमतिता प्रकरण, भारतीय विदेश सचिव र्षवर्द्धन हश्रृंगलाको नेपाल भ्रमण र राजनीतिक परिवेश, महोत्तरी बालिका हत्या प्रकरण, ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाली प्रतिवेदनले निम्ताएको हलचल, चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमण लगायतका घटनाक्रमहरूलाई समावेश गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकारको खेदो खन्नेहरूले विभिन्न बहाना बनाएर सरकारलाई उल्झनमा पार्न खोजेको बताएका छन् । 

कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा समेटी फिर्ता गर्न सरकार लागेकोमा सरकारको खेदो खन्नेलाई गाह्रो परेको उनले बताए । 


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् ।

पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।


पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन् । सत्तारुढ नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।


बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


 मुगुको लागि आएको सरकारी अनुदानको चामल भक्तपुर पठाउने व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार दर्ता भएको कालोबजारी सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइपछि कार्यालयले यस्तो आदेश दिएको हो ।


भारतले बिहीबार र शुक्रबार हुने विदेश सचिव र्षवर्द्धन हश्रृंगलाको नेपाल भ्रमण दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन निकै नै महत्त्वपूर्ण हुने जनाएको छ ।

विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि श्रृंगलाको यो पहिलो भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनको नेपाल भ्रमणको सोमबारै मिति सार्वजनिक गरेको छ ।


कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् । नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।


सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् । 


‘खै उपसभामुख ? संविधानको धारा ९१(१) भन्छ, ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचित गर्नेछन् ।’ कहिले देख्न पाइने उपसभामुख ? कसको जिम्मेवारी हो उपसभामुख पूर्ति ? को किन चुक्यो यस जिम्मेवारीबाट ? अब कहिले ?’


बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् । 

पनौती नगरपालिका– ८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशासनका ठूला कुरा गरेर सुशासन नहुने बताए ।


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम रूपमा अन्तर्द्वन्द्व चर्किरहेका वेला चिनियाँ राजदूतको सक्रियता पुनः देखिएको छ । 

केही दिनअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । 


पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् । 

अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ । 


नेपाल प्रहरीको कपडा खरिद प्रक्रियामा गुणस्तर परीक्षणमै चलखेल हुने गरेको खुलेको छ । विदेशमा परीक्षण गराउनुपर्ने भएकाले ठेकदारहरूले चलखेल गर्दै आएको प्रहरीकै छानबिनबाट पत्ता लागेको हो ।

ऊनी कपडा खरिदमा ठेकदारले प्रहरीमा बुझाएकोभन्दा अर्कै कपडाको परीक्षण गराई गुणस्तर रिपोर्ट ल्याउने प्रयास गरेको छानबिनमा खुलेको छ । 


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिका र प्रधानन्यायाधीशको भूमिकाबारे केन्द्रीय सचिवालय बैठकमा आफूले पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको विषयमा प्रस्टीकरण दिएका छन् । 

प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै १३ मंसिरमा डाकिएको सचिवालय बैठकमा बेग्लै जवाफी राजनीतिक प्रस्ताव पेस गर्ने गृहकार्य गरिरहेका छन् ।


 नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच धुव्रीकरण भइँरहदा हरिवोल गजुरेलसहितका केही नेता भेटघाटमा जुटेका छन् । उनीहरुले आइतबार प्रधानमन्त्री ओली र सोमबार कार्यकारी अध्यक्ष दाहालसँग भेट गरे ।


प्रदेश सरकारको प्रथम पञ्चवर्षीय आयोजना (२०७६/०७७–२०८०/८१) मा गण्डकीका १२ वटा गौरवका आयोजना तोकेको छ । तीमध्येको आठौँ नम्बरमा छ, ‘गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन आयोजना’ ।

यो आयोजनालाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुनको अण्डा दिने चरीसँग तुलना गर्ने गरेका छन् ।


राष्ट्रिय सभाका सांसद ठगेन्द्रप्रकाश पुरीले शरणार्थीलाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव राखेका छन् । संसद्को विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उनले मानवीयतालाई ख्याल गरी नेपालमा आइपुगेका वा रहेका शरणार्थीलाई सम्बन्धित देशमा पठाउँदा जोखिम रहे नेपालमा नै बसोवासको कानुनी मान्यता दिनुपर्ने बताएका हुन् ।


बेपत्तापछि हत्या गरिएकी बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएकाहरूमाथि बर्दिबासमा प्रहरीले गोली प्रहार गरेको छ । गोलीबाट दुईजना घाइते भएका छन् । 

गोली प्रहारपछि भिडलाई तितरबितर पारेर बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । 


खुफिया र सेनाप्रमुखको भ्रमणपछि भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै छन् । नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद ठप्प भएका वेला गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगलाको भ्रमण तय भएको हो । 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । पार्टीभित्र यसअघिको भन्दा भिन्न खालको अन्तरविरोध रहेको उनको भनाइ छ । 


नेकपाभित्रको रडाको अब विधिवतरूपमै तलतल पुग्ने भएको छ । बहुमत समूहले कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव मातहतका कमिटीमा बहसका लागि पठाउन लागेका हुन् । बहुमत समूहले प्रदेश र जिल्ला कमिटीसम्म बहस, जानकारीका लागि दस्तावेज पठाउन लागेको बताएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनसम्बन्धी ज्ञापनपत्र बुझाइएको हाे ।


भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने भएका छन् । विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम छ । 


मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानलाई पक्राउ गरिएको बताए ।


पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रधानमन्त्री केपी ओलीनिकट नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टीपंक्ति विभाजनविरुद्ध उभिँदा नेतृत्व दबाबमा परेकाले छिट्टै नयाँ आधारमा नयाँ एकतासहितको सम्भावना औँल्याएका छन् ।

१३ मंसिरमा बोलाइएको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदनले नेकपा विभाजनको सम्भावना नजिकिएको चर्चा चलिरहेका वेला बाँस्कोटाले भने नयाँ आधारमा नयाँ एकताको सम्भावना औँल्याएका हुन् । 


कर्णाली प्रदेश सरकारले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई शिक्षा, निःशुल्क स्वास्थ्य सेवा र रोजगारीका कार्यक्रम ल्याउने भएकाे छ । 

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगले सुर्खेतमा गरेको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई लक्षित गरी शिक्षा, निःशुल्क स्वास्थ्य सेवा तथा रोजगारी दिने नीति ल्याउन लागेकाे बताए ।


‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँदै जनकपुरमा राजावादीले प्रदर्शन गरेका छन् । जनकपुरको रेल्वे स्टेसनबाट सुरु भएको प्रदर्शनमा सहभागीले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्नेलगायतका माग गरेका छन् । 


नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन् । नेकपानिकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बुधबार नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान हुने बताएका हुन् । 

नेकपामा कसैको मनोमानी नचल्ने भन्दै उनले विधिप्रणालीमा आएर सबैले निर्णय मान्नुपर्ने बताए । 


मन्त्रिपरिषद् बैठकले तीनजना सचिव बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एकमन्त्रीले जानकारी दिए ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ ।


 नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । चुनावी साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वेभिनार’मार्फत उद्घाटन गर्नेछन् । मंसिर ११ गते विहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र संचालन हुने छ । यस्तै निर्वाचन तथा मतदान १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।


 बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् । 


प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । आफूसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।


सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा रहेका बेला नागरिक समाजका केही व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै उनीहरूले राजनीतिक दलहरूलाई जिम्मवारी बोध गर्नका लागि आह्वान पनि गरेका छन् । 


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनबाट यो साता हुने उच्चस्तरीय भ्रमणमा नेपालको सन्देश स्पष्ट भएको जानकारी दिएका छन् । संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका उनले दुवै मुलुकसँग मिलेर जानेबाहेक नेपालको अन्य सन्देश नहुने बताए ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सञ्चारविज्ञका रूपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र बिहीबार मानन्धरलाई प्रदान गरेका हुन् ।


नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भारतीय विदेश सचिव श्रृंगलाले यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेका थिए ।


दशैंअघि योजनाको पेश्की भुक्तानीको सम्बन्धबाट सुरु भएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीच भएको विवादले काम कारबाही प्रभावित भएको छ ।


ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी)माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा भएको ढिलाइमा सरकार मात्रै दोषी नभएको दाबी गरेका छन् । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रुपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।


विगतमा तामझामसहित आयोजना हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको रौनक यसपटक फेरिएको छ । साधारणसभाको उद्घाटनदेखि बन्दसत्रसम्म भर्चुअल माध्यमबाट भइरहेको छ । महासंघका देशभरका सदस्यले जुमबाट बन्दसत्रमा भाग लिएका छन् ।


कर्तव्य ज्यान मुद्दाका फरार आरोपी वडाध्यक्ष अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकहरूले अबिरजात्रा गरेका छन्। 

व्यक्ति हत्या गर्न उक्साएको आरोप लागेपछि १८ महिनादेखि फरार रहेका विराटनगर महानगरपालिका– १४ का वडाध्यक्ष बलदेव यादव बिहीबार अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकले साँझ उनको अबिरजात्रा गदै स्वागत गरेका हुन् । 


नेकपा क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको भूभाग फिर्ता, एमसिसी, भ्रष्टाचार र महँगीलगायतका मुद्दामा आन्दोलन गर्ने भएको छ । 

पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले याे विषयलाई लिएर यही मंसिर २५ गते काठमाडाैंसहित देशका सबै प्रदेशमा विरोध प्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् । 


जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । ¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे । 


ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा उच्च हो । 


प्रदेश सरकारले गौरवका आयोजनामा राखेको ‘गण्डकी काउ फार्म’ पछिल्लो एक वर्षयता प्रगतिविहीन छ । दुग्ध विकास बोर्डमार्फत प्रक्रिया अगाडि बढाउने भनेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बोर्ड गठन गरि प्रक्रिया अगाडि बढाएको थियो । सुरुमा जग्गा खरिद गर्ने, चीनबाट उन्नत जातका गाई ल्याउने र दूध तथा दुग्धजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यसाथ सरकारले गौरवका आयोजनामा राखेको यो आयोजना पछिल्लो समय विवादित बनेको छ ।


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विग्रह झाँगिदो छ । सचिवालयको बैठक शनिबार तय भएको छ । त्योभन्दा अगावै बहस चलिरहेको छ ।

कमिटीले के निर्णय गर्छ, छलफल, बहस कसरी अघि बढ्छ भन्दा पनि नेकपाकै भविष्य के हुन्छ ? पार्टी एकताको अध्याय पूरा नहुँदै विभाजनको मार खेप्ने त होइन भन्ने आशङ्का पैदा भएको छ ।


झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका छन् । उनले दिल्ली जानुअघि गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गरे भने स्कुल भवनको उद्घाटन गरेका थिए ।


सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूमा लोकतन्त्रको कमी रहेको बताएका छन् । संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुखहरूको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा शुक्रबार सभामुख सापकाटाले कानुन निर्माणका क्रममा दलहरूमा लोकतन्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् ।


न्याय परिषद् सदस्यमा सिफारिस रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 


भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताएका छन् । नेपालको दुईदिवसीय औपचारिक भ्रमणको दोस्रो दिन आज राजधानीमा भएको एक कार्यक्रममा उनले ‘सबैको साथ सबैको विकास सबैको विश्वास’ प्राप्त गर्ने भारत सरकारको चाहना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न द्विदेशीय साझेदारी र सहकार्यको विकल्प नरहेको बताए 


धानमन्त्री केपी शर्मा ओलीले बारम्बार पार्टीभित्रैबाट सरकारले गरेका राम्रा कामको पनि चर्चा नगरेको र नराम्रोबाहेक केही नदेखेको भन्दै गुनासो गर्दै आएका छन् । यो गुनासो पार्टीकै नेताहरूप्रति बढी परिलक्षित छ । उनले आफ्नो नेतृत्वको सरकार सफल होला, लोकप्रियताको ग्राफ उकालो चढ्ला भनेर प्रशंसा गर्न हिच्किचाएको पनि आरोप लगाउने गरेका छन् । 


 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको तरङ्ग प्रतिपक्षी दल जनता समाजवादी पार्टीमा पनि देखिएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद फुटसम्म पुग्ने चर्चा चलिरहँदा जसपाको एकीकरण प्रक्रिया नै प्रभावित हुन पुगेको छ । 


 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरे पनि ओली सरकारको विकल्प नरहेको बताएकी हुन् । 


प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपालका भूभाग चीनका विरुद्धमा प्रयोग हुन नदिने बताएका छन् । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङहेसँग आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै नेपाल एक चीन नीतिमा कटिबद्ध रहँदै आएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 


 नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले एकअर्कामाथि संगीन राजनीतिक र व्यक्तिगत आरोपसहितका प्रस्ताव सचिवालयमा प्रवेश गराएका छन् । योसँगै नेकपाको एकीकृत भविष्य र सम्भावित धुव्रीकरणलाई लिएर पार्टी नेता–कार्यकर्ता र विश्लेषकहरुको पनि चासो बढेको छ । र, यी प्रस्तावमा एकअर्काका लागि प्रयोग गरिएको भाषाले पनि चर्चा पाएको छ । यिनै विषयमा विश्लेषक पुरन्जन आचार्यसँग गरिएको कुराकानी : 


 नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक