छोटकरीमा : आज - २०७७ मंसिर ३०, मंगलबार

आज 'अध्यादेश प्रकरण : संविधानमाथिको जालसाजी ?', 'भुक्तानी नदिने चार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन', 'ऐतिहासिक महत्वको रामजानकी विवाहपञ्चमी सुरु', '९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ लाई मृत्युदण्डको सजाय' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा विधिवत विभाजनको बाटोतर्फ अघि बढेको नेताहरूले बताएका छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएसँगै यसको व्यापक विरोध सुरु भएको छ।


उखुको भुक्तानी नपाएपछि काठमाडौँ आएका सर्लाहीका किसानले नागरिकता र उखु बेचेबापत लिनु पर्ने रकमको बिल देखाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। यता, सरकारले किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

अर्कोतर्फ, सर्लाहीको अन्नपूर्ण तथा इन्दिरा सुगर मिल्सले उखु किसानलाई मिलले दिनुपर्ने बक्यौता बुझाइरहेको जनाएको छ। गत वर्ष पुसमा सरकारसँग भएको सहमतिपछि १ वर्षको अवधिमा १५ करोड रुपैयाँ बक्यौता तिरेको उनीहरूले बताएका हुन्।


प्रत्येक वर्ष धुमधामका साथ मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ। २९ मंसिरदेखि शुरु भएको महोत्सव ५ पुसमा सम्पन्न हुनेछ। यस वर्ष काेभिड- १९ का कारण विवाहपञ्चमीका कार्यक्रम सीमित गरिने मन्दिरका महन्थले जनाएका छन्।


कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा प्रशासन पुगेको छ।

तीन वर्षयता ‘मकुना’ले १८ जनाको ज्यान लिइसकेको कोसी गाउँपालिकाले जनाएको छ।


भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमापूजा सहित विशेष पूजा गरेकी छन्। प्राचीनकालदेखि नियमितरूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। 


बिग ब्यास लिगमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले पहिलो हार ब्यहोरेको छ। हुरिकेन्सलाई मंगलबार भएको खेलमा एडिलेट स्ट्राइकर्सले ५ विकेटले पराजित गरेको हो। 


जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिएका ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ। ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोकियाे जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको हो।


कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गरेको छ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा सोमबारदेखि प्रयोगमा आएको हो। अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार मात्रै अनुमति दिएको थियो।


अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन्। यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रूपमा लिइन्छ।


न्युजिल्यान्डले अस्ट्रेलियासँग क्‍वारेन्टिनमुक्त ‘ट्राभल बबल’ को भ्रमण नीति स्थापित गर्न सहमति जनाएको छ। प्रधानमन्त्री ज्याकिन्डा एडर्नले २०२१ को सुरुतिरदेखि नै दुवै देशमा पर्यटकलाई क्‍वारेन्टिनमा नबसी आवतजावत गर्न दिन सकिने बताएकी हुन्। तर त्यसका लागि दुवै देशको कोरोना संक्रमण अवस्था अहिलेकै जस्तो रहनुपर्ने हुन्छ।


अफनानिस्तानको राजधानी काबुलका डेपुटी गभर्नर र उनको सुरक्षाकर्मीको विस्फोटमा परेर मृत्यु भएको छ। उनी सवार सवारीसाधनमाथि अज्ञात समूहले बम प्रहार गरेकाे थियाे। डेपुटी गभर्नर महबुबउल्लाह मोहेबी उनका निजी सुरक्षाकर्मीसहित मंगलबार यात्रा गरिरहेका थिए। 


बाराक ओबामाकाे बायाेग्राफी ‘अ प्रमिस्ड ल्यान्ड’ मा आतंकारी ओसामा बिन लादेनलाई मारिएकाे घटनाकाे पूरापूर वर्णन गरिएकाे छ। ओबामाले अबु अहमद अल कुवेतीकाे भरमा लादेन पत्ता लागेको बायोग्राफीमा उल्लेख गरेका छन्। 


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रूपमै अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाइ दिएका छन्। विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्ने गरी आफूहरूबीचका मतान्तरलाई थाती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले मंगलबार बताएका हुन्। 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक