छोटकरीमा : आज- २०७७ पाैष ०९, बिहीबार

आज संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय, प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, राजनीतिक संकटको मारमा कोरोना खोप, हवाई कारबाहीमा २१ तालिबानी लडाकू मारिए लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।

नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ। आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय समेत भएको बताइएको छ।


संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ। यसअघि कांग्रेसले सरकारकाे कदम असंवैधानिक भएकाे निष्कर्ष निकालेकाे थियाे।  


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ। त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरू नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ। 


नेकपाकाे ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएपछि ७ वटा मन्त्रालय खाली भएका थिए।


नेकपाको (दाहाल–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरू माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको हो। त्यस्तै नेकपा अध्यक्ष प्रचण्डले भीषण संघर्ष गर्नुपर्ने समय आउनसक्ने समेत बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेकाे छ। अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी कमिटीले दिएको 'कार्यकारी' अधिकार बदर गर्ने लगायतका निर्णय गरेको बैठकले आन्दोलनरत उखु किसानलाई बाँकी बक्यौता दिलाउन प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नेदेखि मोरङमा विप्लव समूहले हत्या गरेका शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गर्नेसम्मका प्रस्ताव पारित गरेको छ।


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै 'हस्ताक्षर चल्ने' बनाइएको छ। यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो। 


कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपाली नागरिकको चाहनामाथि राजनीतिको कालो बादल मडारिन थालेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि आएको राजनीतिक तरलताले खोप ल्याउनका लागि भइरहेको कुटनीतिक प्रयत्नमा असर पुर्याउन थालेको हो ।


प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले सातवटै प्रदेश र जनवर्गीय संगठनको इन्चार्ज तोकेको छ। सचिवालय सदस्य ईश्वर पोखरेलबाहेक अरू इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन्। 


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको सालिकमा माल्यार्पण गरेर कम्युनिस्ट एकताप्रति प्रतिबद्धता जनाएका छन् । 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समर्थित विद्यार्थी तथा कार्यकर्ताहरुले आज साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै माइतीघरबाट बानेश्वरसम्म विद्यार्थी, नेता-कार्यकर्ता सम्मिलित प्रदर्शनकारीले संसद् विघटनको विरोधमा विभिन्न नाराबाजी गरेका थिए। 


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार थपिएको समयावधिभित्रै पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्दै उनले कुनै पनि बहानामा महाधिवेशन अनिश्चित हुने बाटोमा जान नहुने बताए। त्यस्तै अर्का नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापना नभए कांग्रेस निर्वाचनका लागि तयार रहनुपर्ने बताएकाे छ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५१ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रामेछाप पकरबासका रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।


अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका छन्। एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ।


संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ। सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक