अमेरिका र चीनबीचकाे व्यापार युद्धले कारोबारमा अवरोध खडा गर्नुका साथै विश्वव्यापी आर्थिक वृद्धिलाई नै सुस्त तुल्याइदिएको छ। लगानीकर्ताहरूलाई बेचैन बनाइदिएको छ भने जारी विवादलाई यस वर्ष कोरोना भाइरसले थप मलजल गर्ने काम गरेकाे छ। विभिन्न समयमा व्यापार युद्ध समाप्त गर्ने प्रयासहरू भएता पनि त्याे सफल हुन भने सकेन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय अर्ब डलरको चिनियाँ सामानहरूमा कर लगाउने चेतावनी दिएसँगै चीनले गुणात्मक र परिणामात्मक उपायहरू अवलम्बन गरी अमेरिकी सरकारको थप कर लगाउने धम्कीविरुद्ध दृढतापूर्वक लड्ने जनाएकाे थियाे।
विवाद चर्किदै जाँदा टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भए। यसको प्रतिक्रियास्वरूप अमेरिकालाई लक्षित गरी चीनले नयाँ कठोर कानुन जारी गरि थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगायो। यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ।