कोरोना भाइरसको उत्पति :
आजभन्दा ठीक १ वर्षअघि अर्थात् सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरसबारे पहिलो पटक रिपोर्ट गरेको थियो । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो।
पहिलाेपटक कोरोना भाइरस चीनको वुहान सहरमा सन् २०१९ को डिसेम्बर ३१ मा देखा परेको हो। चीन सरकारले सुरुदेखि नै यो भाइरस खतरनाक छ भन्दै उद्गम स्थलमा बन्दाबन्दी, सामाजिक दूरी कायम, माक्स र सेनिटाइजर प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरेकाले चीनका अन्य भूभागमा कम फैलियो। वुहान अहिले कोरोनामुक्त छ। तर एकपछि अर्को गर्दै यो भाइरस त्यहाँबाट संसारभर फैलियो। संसारका २०८ मुलुक प्रभावित बने। चीनले सचेत गराउँदा पनि बेवास्ता गरेकाले पहिलो चरणमै युरोपको इटाली र अमेरिका बढी प्रभावित बनेका थिए।
कोरोना त्रास :
अहिले विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित भएता पनि अवस्थामा पूर्ण सफलता हासिल भएकाे छैन। काेराेनाका कारण संसारभरिका अर्बाै मानिसकाे जीवन घरभित्रै सीमित भएकाे थियाे भने आर्थिक सामाजिक प्रभाव समेत परेको छ। औषधिजन्य तथा दैनिक खाद्य पदार्थकाे मूल्य निकै आकासिएको छ।
कोरोना खोप विकास :
चीन, रुस, जापान, भारत, बेलायत, अमेरिका, इजरायललगायत मुलुक कोरोना खोप बनाउन आआफ्नै किसिमले जुटेका छन्। अन्त्यमा खोप बन्यो, खोप लगाउन विभिन्न मुलुकले स्वीकृति दिएसँगै अब कोरोना महामारी नियन्त्रण हुने आशा र भरोसा सर्वत्र छ। यहीबेला बेलायतमा काेराेनाकाे नयाँ प्रजाति देखिएकाे छ।
कोरोना संक्रमित उच्च पदस्थ व्यक्तिहरू :
कोरोना भाइरस धनी, गरिब, साना, ठूला सबै मानिसमा फैलियो। अमेरिकी राष्ट्रपति ट्रम्प, बेलायती राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोल्सनारो, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक, भारतीय अभिनेता अभिताभ बच्चनसम्म कोरोना सङ्क्रमित बने। कोरोनाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी, लिवियाका पूर्वप्रधानमन्त्री मोहम्मद जिब्रिल, बुरुन्डीका पूर्वराष्टपति पिएरे बुयोया, विभिन्न मुलुकका वरिष्ठ चिकित्सकको समेत ज्यान लियो।
इ-कमर्स कम्पनीहरू लाभान्वित :
वर्तमान विश्व संकटको समयमा संसारकै ठूलो अनलाइन सपिङ प्लेटर्फम ‘अमेजन’का संस्थापक जेफ बेजोस महामारीकै बीचमा दुईसय अर्ब अमेरिककी डलर सम्पत्तिका मालिक बनेका छन्। त्यस्तै अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटर्फम ‘अलिबाबा’ले पनि कोरोनाको कहरबीच डरलाग्दो कमाई गरेको छ।
महामारीको अन्त्य कहिले होला ?
कोरोना संक्रमणको सन्दर्भमा उठिरहेका थुप्रै प्रश्नहरुमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न नै महामारीको अन्त्य कहिले होला भन्ने नै हो। अहिले संसारभरि नै अधिकांशको आशा खोपमा आएर अडिएको छ तर यो नै तत्कालै सम्पन्न गर्न सकिने समाधान नभएको विज्ञहरू बताईरहेका छन्। । विश्व जनसंख्याको प्रमुख वा ठूलो हिस्सालाई खोप लगाउन नै वर्षौं लाग्न सक्छ, जुन कुराले मात्रै यो महामारी फैलिने कुरालाई रोक्न सक्छ ।