अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् ।
सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका ५७ वर्षीय बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन्। जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन्।
अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन्।