मिरगञ्ज पुल तत्काल मर्मत गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण मिरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालवाहक सवारीसाधन आवतजावतमा समस्या परेको भन्दै उनीहरूले सरकारसँग सो माग गरेका हुन् । पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालवाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महँगीको चपेटामा पर्ने भएकाले व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो । करीब तीन महीनादेखि बिग्रिएको सो पुलको छेउमा अर्को पुल सुस्त गतिमा निर्माण भइरहेकाले छ । पटक पटक समस्या आउने गरेको मिरगञ्ज पुलका कारण पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मिरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुल तीन दिनभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मिरगञ्ज पुलको जीर्णाेद्धार तत्कालै शुरू गर्नुपर्ने माग उनले राखे । रासस