वैशाख २५, काठमडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले रू. १०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।
नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ ।
कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।