पर्यटक बढाउन पदमार्ग निर्माण, पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री

गण्डकी । बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् । मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका यी पर्यटकीयस्थल छायाँमा परेका हुन् । कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ ।  जिल्लाको काठेखोला गाउँपालिकाले भने पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ । पर्यटक बढाउनका लागि गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ । पालिकाको वडा नम्बर ४ स्थित चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पुर्या‍उने गरी पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवद्र्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए । उनले धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर  पदमार्ग निर्माण गर्न थालेको बताउँछन्। “वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षत गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरुले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ”, उनले भने, “अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति सङ्ग्रहालय र माथि वसन्तापखोर ।   गाउँपालिकाले विनियोजन गरेको २ लाख रुपैयाँबाट पदमार्ग निर्माण शुरू गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए । जनजाति सङ्ग्रहालयदेखि करिब एक हजार दुई सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने उपाध्यक्ष थापाले बताए । वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमहृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ । उपाध्यक्ष थापाले भने, “पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ । जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।” त्यस्तै, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन्। पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने बताए । सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्थानका महासचिव खेम आचार्यले जानकारी दिए । मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराएका थिए । रासस