प्रतिनिधि सभा पुनःस्थापना भए राजनीतिक स्थिरताको सन्देश जान्छ : आनन्द शर्मा (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौंँ ।। राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले प्रतिनिधि सभा पुनःस्थापना भए जनतामा राजनीतिक स्थिरताको सन्देश जाने बताउनुभएको छ । राजमो काठमाडौँको आयोजनामा २०७७ माघ ९ गते काठमाडौँको दुर्गम स्थल शङ्खरापुर नगरपालिकाको जहरसिंपौवामा आयोजित विरोधसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी यस सन्दर्भमा स्पष्ट छौँ, प्रतिनिधि सभा पुनःस्थापना हुँदासाथ जनताका सबै समस्या समाधान हुने छैनन्’ नेता शर्माले अगाडि भन्नुभयो– ‘यदि प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भने जनतामा राजनीतिक स्थिरताको सन्देश जाने छ ।’ उहाँले २०६२–६३ सालको जनान्दोलनपछि नेपाली जनताले राजनीतिक स्थिरता पनि चाहेको बताउनुभयो । ‘दुईतिहाइको हाराहारीमा मत दिएर जनता ढुक्क थिए’ उहाँले भन्नुभयो– ‘तर, सत्तारूढ नेकपाले जनताको जनादेशलाई कायम राख्न सकेन ।’ जनअपेक्षा विपरीत गत पुस ५ गते अनपेक्षित रूपमा ओली सरकारले प्रतिनिधि सभा विघटन गरेको उहाँको भनाइ थियो । उहाँले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई असंवैधानिक र अधिनायकवादी कदम बताउनुभयो । ‘असंवैधानिक यस अर्थमा हो’ उहाँले विस्तारका साथ भन्नुभयो– ‘वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अनुमति दिँदैन ।’ २०७२ सालको संविधानमा राजनीतिक स्थिरताको पक्षमा थुप्रै प्रावधान राखिएको बताउँदै उहाँले गतकालमा जस्तो सहजै प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीमा निहित नरहेको तर्क राख्नुभयो । त्यसैगरी ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई अधिनायकवादी कदम भएको बताउँदै उहाँले भन्नुभयो– ‘पार्टीभित्र मतभेद हुँदा बहुमतको निर्णय नमान्ने वा स्वेच्छाचारी ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको कार्यशैली अधिनायकवादी हो ।’ ‘प्रतिनिधि सभामा मेरा विरुद्ध अविश्वास प्रस्ताव आयो, त्यसैले प्रतिनिधि सभा नै विघटन गरिदिएँ’ प्रधानमन्त्रीको ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले भन्नुभयो– ‘यो तरिका अधिनायकवादी हो ।’ उहाँले लोकतन्त्रमा राजनीतिक पार्टीमा मतभेदबारे टुङ्गो लगाउन बहुमत–अल्पमतको विधि रहने बताउँदै प्रधानमन्त्री ओलीले पनि त्यो विधि स्वीकार्नुपर्ने बताउनुभयो । अर्कातिर उहाँले सत्तारूढ नेकपामा राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा कुनै मतभेद देखा नपरेको दावी गर्नुभयो । ‘हाम्रा पक्षकालाई पदप्रतिष्ठा र लाभ पुगेन, त्यसकारण सत्तामा भागबण्डा चाहियो’ उहाँले विषयवस्तु प्रस्ट पार्दै भन्नुभयो– ‘यस ढङ्गले नेकपामा आन्तरिक मतभेद चर्कियो ।’ उहाँले भारतले नेपाली भूमि मिचिरहेको, जनजीविकाको अवस्था गम्भीर रहेको, कोरोना ...