वैशाख २२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पनि काठमाडौं महानगरमा मेयर उठ्न चाहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयर उठ्छु भन्दा कतिपयले ठट्टा गरेपनि काठमाडौंको मेयर भनेको राष्ट्रपति र प्रधानमन्त्री पछिको महत्वपूर्ण पद भएको बताए ।
उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहनुभएका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिएका छन् ।
अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने बताउँदै उनले अब काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।
अध्यक्ष भट्टराईले भने, ‘राजधानी शहरको मेयर भनेको अहिले पनि अन्यत्र विश्वमा पनि प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिपछिको दोस्रो सबैभन्दा ठूलो महत्वपूण पद हो । मैले भनेको थिएँ । धेरै मान्छेले ठट्टा पनि गरे । म अब एक पटक मेयर हुन्छु भनेँ मैले साँच्चै भनेको हो ।'
अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन चुनावलाई लक्षित गरेर मात्र नभइ दीर्घकालीन रहने पनि दाबी गरे । उनले यो गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने बारेमा योजना बनाइरहेको बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताए । उनले सिर्जना सिंह पहिला राजनीतिकर्मी र दोस्रोमा मात्र पारिवारिक पृष्ठभूमिमा जोडिने बताए ।
नेता श्रेष्ठले भने, ‘सिर्जना गणेशमानको बुहारी, प्रकाशमान सिंहको श्रीमती भएको कारणले मात्रै उम्मेदवार बनाइएको जो चर्चा छ, त्यो नितान्त गलत हो । वास्तवमा गणेशमानजी र प्रकाशमानजस्सँग सिर्जनाको सम्बन्ध सिर्जना श्रेष्ठ राजनीतिकर्मी भएका कारणले भएको हो । पहिलो सिर्जना राजनीतिकर्मी हो । त्यसपछि श्रीमती र बुहारी । वास्तवमा सक्रिय राजनीतिमा प्रकाशमाजी भन्दा अगाडि सिर्जनाजी हुनुहुन्थ्यो । म नेपाली काँग्रेसबाट राजनीति शुरु गरेको मान्छे हो ।’