युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुरू

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरू भएको छ । आइतवारदेखि एकीकृत कारोबार शुरू गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ पाँच निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतवार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरू गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा ‘सिनर्जी’ ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए । साथै निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिए । समारोहमा साविक युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पूँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसूस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ थियो । अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए ।  युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्रेष्ठले ४ वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नयाँ प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीमा उभ्याउने बताए । सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।  निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्‍याउनुपर्ने बताए ।  यस्तै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरू बीमा सेवा नपुगेका ठाउँमा जानुपर्नेमा जोड दिए । मर्जरसँगै कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरूमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । 

सम्बन्धित सामग्री

जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्दै छन् । गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गते नै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । अन्तिम सम्झौताअनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ । बीमा क्षेत्रमा पूँजी वृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो । प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता भाँडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर प्रक्रिया अघि बढाएको हो ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।