एक सातायता उनी सखारै उठ्छन् । नित्यकर्म सकेर भोट माग्न निस्किहाल्छन् । झापाको मेचीनगर–१३ चारआलीका ९२ वर्षीय नेत्रप्रसाद न्यौपानेलाई चुनावी चटारोले भ्याइनभ्याई बनाएको छ । आफ्नै उमेर हाराहारीका अरूका लागि उनी प्रेरक पनि छन् । दिनहुँ हिँड्छन् । शारीरिक समस्या छैन । भातसँग दूध र केरा खान्छन् । ‘अहिले म जीवनमै सबभन्दा बढी व्यस्त भएको छु,’ सेता दाँत देखाउँदै उनी मुस्काए, ‘किन हो किन मर्ने बेलामा चुनाव जितेरै जानुपर्छ भन्ने लाग्यो ।’