ओलीले औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्ने नेपाल पक्षको तयारी

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्ने तयारी गरेको छ । वरिष्ठ नेता नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बुधबार आयोजित बैठकमा नेताहरुले पार्टीको औपचारिक बैठक नबोलाए समानान्तर गतिविधि गर्न बाध्य हुने चेतावनी दिएका हुन् । ‘अब नेकपा एमाले पुनर्बहाली भयो । हिजो जसको जे हैसियत थियो, हामी त्यहीँ पुगेका छौं’ बैठकपछि एक नेताले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीजीले अब औपचारिक बैठक बोलाएर सबै नेताहरुलाई उचित भूमिका र जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो ठहर हो । अन्यथा समानान्तर गतिविधि गर्न बाध्य हुने अधिकांश नेताहरुको धारणा रह्यो ।’ बैठकले पुनः वामपन्थीहरुको कार्यगत एकता गर्नुपर्ने र वामपक्षधरकै सरकार बनाउनुपर्नेमा जोड दिएको छ । नयाँ सन्दर्भमा वामपन्थी एकता नभएपनि कार्यगत एकता कायम राख्नुपर्ने नेता रघुजी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो ,‘आजको बैठकमा वामपन्थीहरुको सरकार बनाउनुपर्छ भन्ने विषयमा छलफल भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले तत्काल पार्टी एकता सम्भव होला वा नहोला। हामी ठूलो पार्टी भएकोले वामपन्थहिरुसँग एकता गर्नुपर्छ । एकताको लगि प्रयत्न गर्नुपर्छ । वाम मोर्चा पनि बनाउनुपर्छ । वामपन्थीहरुकै सरकार बन्नुपर्छ र टिक्नुपर्छ’ उहाँले अब एमाले र नेकपा माओवादीमात्रै नभएर सबै वामहरुको साझा सरकार बनाउनुपर्ने बताउनुभयो । यस्तै, बैठकमा आज कैलालीमा भएको घटनाबारे पनि छलफल भएको थियो । घटनाबारे दुःख व्यक्त गरिएको नेता पन्तले बताउनुभयो । बुधबार एमाले प्रदेश कार्यालयमा लेखराज भट्ट वा भीम रावल कसलाई इन्चार्ज मान्ने भन्ने विषयमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप भएको थियो ।