वैशाख १, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् ।
अध्यक्ष स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्न आवश्यक रहेको बताए । उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए ।
बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।
१० अर्ब रुपैयाँको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदूर मिलेर पूँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ । नेपालमा खरीद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने पनि बताए ।
उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरेर सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । उनले नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ, त्यसको लागि यातायात व्यवसायी तयार रहेको पनि बताए ।
अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकोले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने पनि बताए ।
उनले सार्वजनिक यातायातमा शतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबैभन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने पनि बताए ।
अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दूर्घटना,यातायात सिन्डिकेटलगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गरे ।