स्टार्टअपमा ५०० आवेदन : लगानीकर्ताको रोजाइमा पाँच मात्रै

काठमाडौं। नेपाल स्टार्टअप फेस्ट–२०२३ मा ५०० भन्दा बढी परियोजनाको आवेदन परे पनि लगानीकर्ताको रोजाइमा पाँचओटा स्टार्टअप मात्र परेका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले उक्त फेस्टलाई लक्ष्य गरेर १ महीनादेखि स्टार्टअप परियोजना माग गरेको थियो । उक्त अवधिमा ५०० आवेदन परे पनि अधिकांश स्टार्टअपका विभिन्न पक्षमा कमजोर देखिएपछि नौओटा मात्रै प्रस्तुति (आइडिया पिच) का लागि छानिएका थिए । प्रस्तुतीकरण दिनेमध्ये पाँचओटा स्टार्टअप परियोजनामा लगानीकर्ताको चासो देखिएको हो ।  परिसंघको युवा उद्यमी मञ्चका उपाध्यक्ष सुगम घिमिरेले आवेदन संख्या राम्रो भए पनि आइडिया पिच र त्यसलाई सघाउने खालको कागजात नभएको बताए । ‘आइडियादेखि वित्तीय विवरणका साथै कम्पनी पनि उपयुक्त देखिएन,’ घिमिरेले भने । शनिवार काठमाडौंमा सम्पन्न भएको दोस्रो संस्करणको फेस्टको अन्तिम प्रतिस्पर्धामा पुगेकामध्ये गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीकर्ताले इच्छा देखाएका हुन् ।  यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायबल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टिम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् । छानिएका स्टार्टअप परियोजनामा थप अध्ययन गरेपछि लगानीको विषय स्पष्ट हुने घिमिरेले जानकारी दिए ।  स्टार्टअपमा आकर्षण देखिए पनि आइडियालाई कसरी सान्दर्भिक बनाउने, लगानीकर्तालाई कसरी आकर्षित गर्ने र कम्पनीका विषयमा कसरी प्रस्तुति दिँदा लगानी ल्याउन सकिन्छ भन्ने विषयमा जनचेतना नपुगेको देखिन्छ । सरकारी तथा निजीक्षेत्रबाट स्टार्टअपलाई सघाउने नीति र सहजीकरणको वातावरण बन्दै गर्दा आइडियाको प्रस्तुतीकरण फितलो हुने देखिएको छ ।  ल एक महीनामा ५०० आवेदन परे पनि नौओटामात्रै प्रस्तुतिका लागि छनोट ल अधिकांशमा आइडियामात्र आए, त्यसलाई सघाउने कागजातको अभाव ल गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङमा लगानीकर्ता इच्छुक सयौंको संख्यामा आवेदन पर्दा पनि लगानीकर्ताको रोजाइमा कम स्टार्टअप परियोजना परेका छन् । स्टार्टअपमा लगानी गर्न कम्पनीहरू इच्छुक भएको स्पष्ट देखिए पनि आइडियाहरू सान्दर्भिक नहुँदा समस्या हुने गरेको सरोकारवाला बताउँछन् ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्टार्टअप उद्यमलाई सघाउने गरी नीति ल्याउने तयारी भएको बताएका छन् । उक्त कार्यक्रममा उनले हाल नेपालमा सूचनाप्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यावसायिक सोचयुक्त उद्यमशील संस्कारको विकास भइरहेको बताए । राष्ट्रिय स्टार्टअप उद्यम कार्यविधिको मस्यौदा तर्जुमा गरेको बताए । कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरूलाई २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा ३ प्रतिशत ब्याजमा उपलब्ध गराउने उनले बताए ।  नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघ युवा उद्यमीलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न लागिपरेको उल्लेख गरे । उनले नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउने र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको बताए । फेस्टमा स्टार्टअप अफ द इयर अवार्ड हाम्रो पात्रो हेल्थलाई प्रदान गरिएको छ । बेस्ट इनोभेशन अफ द इयर अल्लोई प्रालिलाई, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामालाई, ग्रीन स्टार्टअप अफ द इयर अवार्ड डोको रिसाइकल्सलाई र सोसियल इन्टरप्राइज अफ द इयर अवार्ड चायो बायोलाई प्रदान गरिएको छ । त्यसै गरी इनेबलर्स अफ आन्त्रप्रेनर्स इन्भेस्ट फर इम्प्याक्ट नेपाललाई, वुमन इन आन्त्रप्रेनर्स डा. प्रतिभा पाण्डेलाई, बेस्ट स्टार्टअप आइडिया रे: मिनी ई–स्कूटरलाई र बेस्ट पिचडेक अवार्ड एसटीओएमपीलाई प्रदान गरिएको छ ।