धरान (अस) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शैक्षिक पूर्वाधारका लागि सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् ।
छनोटमा परेका विद्यालयहरूमा २१ ओटा विद्यालयमा चारकोठे भवन, २७ विद्यालयमा आइसिटी कक्षा सञ्चालन, तीनओटा विद्यालयमा ल्याब स्थापना, १६ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय ६ लाख ५० हजार, ल्याबका लागि १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न १८ लाख र चारकोठे कक्षाकोठाका लागि ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । छनोटमा परेको धरान उपमहानगरपालिका १३ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि ८ ओटा विद्यालय, आइसिटी कक्षा सञ्चालन गर्न चार विद्यालय र ल्याब स्थापनाका लागि एक विद्यालय छनोट भएका छन् । इटहरीमा परेका ७ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि १, दुईकोठे भवन निमार्णका लागि दुई र आइसिटी कक्षा सञ्चालनका लागि चार विद्यालय छनोटमा परेका छन् ।
वराहक्षेत्रका ८ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि दुई, दुईकोठे भवन निर्माणका लागि तीन र आइसिटी कक्षा सञ्चालनका लागि ३ विद्यालय छनोटमा परेका छन् । रामधुनीका पाँच विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि एक, दुईकोठे भवन निर्माणका लागि एक र आइसिटी कक्षा सञ्चालनका लागि तीन विद्यालय छनोटमा परेका छन् । यसैगरी जिल्लाका दुहबी, इनरुवा, बर्जु, गढी, हरिनगर, भोक्राह, देवागञ्ज, कोशीका विभिन्न विद्यालय कार्यक्रमका लागि छनोट भएका छन् ।