कभर्ड हल निर्माण ७ वर्षपछि सम्पन्न हुँदै

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा निर्माण शुरू भएको ७ वर्षपछि कभर्ड हलको काम सम्पन्न हुने भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ खलंगामा निर्माणाधीन कभर्ड हलको अधिकांश काम यसअघि नै सम्पन्न भए पनि घेरबार लगायत काम बाँकी थियो । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन भई अहिले कभर्ड हलको बाँकी काम गरिएको निर्माण समितिका अध्यक्ष अनिल बुढामगरले बताए । ‘खुला रूपमा रहेको कभर्ड हललाई चारैतिरबाट घेराबार गरिँदै छ,’ अध्यक्ष बुढामगरले भने, ‘चार भागमध्ये तीन भागमा जस्ताले बारेर एक भागमा इँटाको पर्खाल लगाउने काम लगभग सकिएको छ ।’ निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम भएकाले छिट्टै सम्पन्न हुने उनले बताए । कभर्ड हलको निर्माण २०७० सालमा शुरू भएको थियो । जिल्ला खेलकुद विकास समिति रुकुमको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ७४ लाख १६ हजार आर्थिक सहयोग रहेको कभर्ड हल निर्माणको जिम्मा दिवा निर्माण प्रालि ललितपुरले लिएको थियो । बजेट सकिए पनि काम नसकिएपछि अहिले विनियोजित २० लाख बजेटबाट निर्माण अघि बढाइएको हो । इन्डोर खेलहरू सञ्चालन र प्रशिक्षण सहज बनाउने उद्देश्यले कभर्ड हल निर्माण शुरू गरिए पनि वर्षौंसम्म निर्माण पूरा नहुँदा  खेलकुदका गतिविधि हुन सकेको थिएनन् । प्रयोगमै नआई कभर्ड हल जीर्ण बन्दै गएको थियो । लामो समयपछि निर्माण सम्पन्न हुने भएपछि खेलाडीका साथै प्रशिक्षकहरू उत्साहित भएका छन् ।