अमेरिकामा ओमिक्रोनका संक्रमित बढ्दै, क्रिसमशका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

पुस ६, न्यूयोर्क । अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन ओमिक्रोनका संक्रमित बढ्ने गरेको बताइएको छ ।  अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमशका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको संक्रमण सर्न सक्ने बताएका छन् ।  यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठओटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् । अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै द्रुत गतिमा फैलिएको जानकारी दिएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो संक्रमित देखिएकोमा अहिले आएर यहाँका करीब ४८ राज्यमा नै यो संक्रमण फैलिएको जानकारी दिएका छन् । ओमिक्रोन भेरिएन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमशका बेला हुने ओहोरदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए ।  क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाइ यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरिएन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् । रासस/सिन्ह्वा 

सम्बन्धित सामग्री