सम्भावित जोखिम शीर्षकमा रकम नछुट्याएको सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३२ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको कम्पनीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम छुट्याएन, जसको सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा परेको हो । साथै कम्पनीको खराब कर्जा संकलनसमेत अघिल्लो वर्षभन्दा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष २१ लाख ६० हजार रुपैयाँ मात्र खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा गत वर्ष ४२ प्रतिशत बढी अर्थात् १ करोड ९१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी अर्थात् ३० करोड ३३ लाख रुपैयाँ  छ । कम्पनीले अघिल्लो वर्षभन्दा करिब १२ प्रतिशत बढी अर्थात् १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा करीब ७ प्रतिशत घटेर १ दशमलव ८३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ८ दशमलव ५६ प्रतिशत रहेको थियो । वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला