पर्वत अस्पतालमा रगत अभावले उपचारमा समस्या

पर्वत । रगतको पर्याप्तता नहुँदा पर्वत अस्पतालमा आउने बिरामीको उपचारमा समस्या हुन थालेको छ । पर्वत अस्पतालले माग अनुसार रगत उपलब्ध नहुँदा आवश्यक परेका बेला बिरामीका आफन्त र ग्रूप मिल्ने मानिस खोजेर जोहो गर्नुपर्ने अवस्था रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटीले माग अनुसार रगत दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । अस्पतालमा नियमित हुने शल्यक्रिया, डायलासिस, दुर्घटनाका घाइते, सुत्केरी हुने महिलाका लागि रगत तयारी अवस्थामा नहुँदा समस्या भएको पहाडीको भनाइ छ । पर्वत अस्पतालमा डायलासिस गर्न मासिक ३०/४० जना बिरामी आउने गरेका छन् । यस्तै दैनिकजसो सुत्केरी हुने महिला आउँछन् । साथै रक्तअल्पता भएका बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाइ भएको उनले बताए । जिल्लामा रगतको जिम्मा नेपाल रेडक्रस सोसाइटीसँग छ । सक्दो प्रयास गरेर रगतको आपूर्ति गरिँदै आएको रेडक्रसले बताएको छ । रेडक्रसका जिल्ला सभापति रुद्रबहादुर रिमालले अस्पतालमा आवश्यक रगत हरहालतमा उपलब्ध गराउँदै आएको बताए । तर केही समययता रक्तसञ्चार केन्द्रमा कार्यरत प्राविधिक कर्मचारी बेनी सरुवा भएर गएपछि नियमित रक्त सञ्चारमा समस्या भएको उनको भनाइ छ । अस्पतालले मागेको खण्डमा बागलुङबाट समेत रगत ल्याएर समस्या समाधान गरिएको उनले बताए । पर्वत अस्पतालले भने रगत चाहिएको बेला उपलब्ध हुन नसकेको बताएको छ । कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रम कम मात्रामा भएका छन् । पर्वत अस्पतालमा आउने बिरामीका आफन्तले रगत सहजै उपलब्ध नहुँदा दुःख पाइएको गुनासो गर्दै आएका छन् । रगत आवश्यक परेमा सामाजिक सञ्जालमा अनुरोध गरेर रगत खोज्नुपरेको अस्पताल प्रशासनले बताएको छ । रेडक्रसको रक्तसञ्चार केन्द्रको क्षमता बढाउने, उपकरण थप गर्ने, नियमित रक्तदान भइरहने र लामो समय भण्डारण गर्न सक्ने अवस्था भएमा मात्रै रक्त अभावको समस्या समाधान गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।