सडक निर्माणमा ढिलाइ गरेको भन्दै स्थानीयले गरे हरिसिद्धीमा सडक अवरुद्ध [तस्वीरहरू]

सडक निर्माणमा ढिलाइ गरेको भन्दै ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रमा सडक अवरुद्ध पारिएको छ ।  स्थानीय नागरिकहरूले बाटो कालोपत्रे गर्नुपर्ने मागसहित बाटो बन्द गरेका हुन् । उनीहरूले बाटाे कालोपत्रे नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको जनाएका छन् । बाटो बन्द हुँदा त्यो बाटो भएर हिँड्ने सवारीसाधनहरू समस्यामा परेका छन् ।  सडक समयमै निर्माण नहुँदा मूल सडकमा धूलो उड्ने गरेको छ, जसकारण मानिसहरूले सास्ती भोग्नु परिरहेको छ । 

सम्बन्धित सामग्री

चुनावसँंगै नगरकोट सडक बनाउन तातिए दलहरु

चुनावसँंगै भक्तपुरका राजनीतिक दलका उम्मेदवारहरु भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रेका छन्। उनीहरुले बुधबार बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।

सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित

ठेक्का लागेको दुई वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि झापाको कनकाईस्थित सुरुंगा र झापा गाउँपालिका जोड्ने अमरपथ सडकका उपभोक्ता आन्दोलित बनेका छन् । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका...

सेनाले ट्र्याक खुलाएर असारसम्ममा सिमकोटमा सडक पुर्‍याउने

काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरू गर्ने भएको हो । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोलन बाँकी रहेकोमा ७ किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो । ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ । विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए । सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए । सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो । ‘सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौं,’ प्रमुख लामाले भने । केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरूले चालू आवमा समेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए । केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए । अहिले अरू कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ ।    यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो । बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए । सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ । अहिलेसम्म ट्र्याक खुलिसकेको सडक ८ मिटर चौडाइको छ । यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ । सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए । सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर ८ मिटर नै चौडा बनाइनेछ । सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए । चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ । सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन । ‘नेपाल सरकारको बजेटबाटै स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ।    स्थानीयवासीलाई मनाएर ट्र्याक खुलाइने गरिएको छ । हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५÷१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ । अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माणमा ढिलाइ भएको योजनाले बताएको छ । उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाइ भएको थियो । उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए । सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ । लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ । सोमध्ये पनि सबैभन्दा अफ्ठ्यारो भाग सेनाको कर्णाली कोरिडोर विकास निर्माण दलले खुलाउनेछ । रासस

नारायणगढ–बुटवल सडक विस्तार : २ वर्षमा भौतिक प्रगति १०% भन्दा कम

असार २१, बुटवल । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन ।  पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।  सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।’ सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०÷६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाख महीनामा देशभरमा संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए । उनले भने, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।’ अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए ।  कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उनले भने, ‘पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’  सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उनले भने, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।’ ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शंका रहेको प्रमुख दृष्टिले बताए । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उनले भने, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।’  गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।  अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जानकारी दिएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उनले भने, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।’  गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।  विसं २०७५ चैतमा सो सडकको विस्तार शुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस