नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समिति परिवर्तन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (Nepal Infrastructure Bank) मा सञ्चालक समिति परिवर्तन भएको छ । बैंक (NIFRA)ले नेप्से (Nepse)मार्फत सूचना जारी गर्दै सञ्चालक समितिमा परिवर्तन भएको जानकारी दिएको हो ।  कम्पनीका अनुसार रित्त रहेको संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधिका रुपमा रत्नराज बज्राचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । बज्राचार्यलाई वैशाख १७ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो ।  त्यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक समिति सदस्य सुमन पोखरेलले व्यक्तिगत कार्यव्यस्तताका कारण सञ्चालक पदबाट राजीनामा दिएकाले वैशाख १८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको जानकारीसमेत कम्पनीले दिएको छ ।  यसर्थ नयाँ सञ्चालक नियुक्ति र एक सञ्चालकको राजीनामा स्वीकृतिपछि कम्पनीमा ६ सञ्चालक समिति कायम भएको छ । कम्पनीका अध्यक्षमा अनुज अग्रवाल छन्् भने नवनियुक्त बज्राचार्यसहित कम्पनीका सदस्यहरूमा श्रीकृष्ण नेपाल, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी छन् । शंकर प्रसाद अधिकारी स्वतन्त्र सञ्चालक र लिमा अधिकारी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सदस्यको रुपमा रहेकी छन् ।  कम्पनीका अध्यक्ष अग्रवाल विशाल ग्रुप लिमिटेडको प्रतिनिधिका रुपमा रहेका हुन् । त्यस्तै सदस्य श्रीकृष्ण नेपाल सरकारको प्रतिनिधिका रुपमा छन् भने लालमणी जोशी इमर्जिङ्ग नेपाल लिमिटेडबाट प्रतिनिधिका रुपमा छन् ।