क्यासीको ३७औं सम्मेलन काठमाडौंमा शुरू : लगानी बढाउन अन्तरराष्ट्रिय समुदायलाई राष्ट्रपतिको आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लगानीका अवसरहरू बढेकाले नेपालमा लगानी गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य संघका सदस्यहरूको उपस्थितिमा सोमवारदेखि शुरू भएको एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७औं सम्मेलनमा उहाँले जलविद्युत्, पर्यटन, कृषि, उत्पादनमूलक क्षेत्र र सूचना तथा प्रविधि क्षेत्र (आईटी)मा लगानी बढाउन आह्वान गर्नुभएको हो ।  एशिया प्रशान्त क्षेत्रका ६० उद्यमी व्यवसायीको सहभागितामा शुरू भएको सम्मेलन उद्घाटन सत्रमा उहाँले उक्त क्षेत्रको लगानी नेपालमा ल्याउन आग्रह गर्नुभयो । साथै उहाँले लगानीका लागि नेपालले कानूनी व्यवस्था तथा नीतिहरू सहज बनाउँदै लगेको बताउनुभयो । एशिया–प्रशान्त क्षेत्रको दिगो आर्थिक वृद्धि प्राप्त गर्न साझा प्रयासका लागि सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको उहाँको भनाइ छ । ‘एशिया–प्रशान्त द्रुतरूपमा विस्तार भइरहेको आर्थिक क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘नेपाल पनि व्यापार, उद्यम कनेक्टिभिटीका लागि सार्क, बिमस्टेकजस्ता संगठनमा आबद्ध छ, त्यसैले बजार पहुँचको अभाव छैन ।’  अर्थमन्त्री डा. प्रकाशशरण महतले यो सम्मेलनले उद्यमी, व्यवसायीको विश्वास बढाउने बताए । ‘२०७२ सालको भूकम्प, कोरोना भाइरस र बाहिरी अवस्थाले मुलुकको अर्थतन्त्रमा केही समस्या पारेको थियो,’ महतले भने, ‘तर, यसबाट सुधारोन्मुख हुँदै आएको र यो सम्मेलनले मुलुकको अर्थतन्त्र बुस्ट गर्नेमा म विश्वस्त छु ।’ नेपालमा लगानीको ट्र्याक रेकर्ड राम्रो रहेको भन्दै उनले यहाँ लगानी गरेका कम्पनी तथा लगानीकर्ताले नाफा पनि कमाइरहेको बताए ।  ‘भारतसँग विद्युत् व्यापार सम्झौता भइरहेको छ,’ उनले लगानीका क्षेत्र उल्लेख गर्दै भने, ‘बजारको अभाव हुँदैन, जलविद्युत्, नवीकरणीय ऊर्जामा लगानी गर्नुस्, हामी रिटर्नको ग्यारेन्टी गर्छाैं ।’ कोभिडसँगै मुलुकको आईटी क्षेत्रमा युवाहरू आकर्षित भई लगानी गरेको भन्दै महतले यो क्षेत्र पनि लगानीका लागि अवसर भएको बताए । यसमा ५० प्रतिशत आयकर छूट गरिएको भन्दै उनले थपे, ‘यसबाहेक पर्यटन क्षेत्रका होटेललगायत पूर्वाधारमा लगानी गर्न पनि सकिन्छ ।’ उनले आगामी मार्च २०२४ मा लगानी सम्मेलन गर्न लागिएको पनि सम्मेलनका सहभागी लगानीकर्तालाई जानकारी दिए ।  सम्मेलनमा मुख्य वक्तासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सबल पक्ष रहेको बताए । खुद्रा, उपभोग्य वस्तु र सेवालगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै डा. भट्टराईले थपे, ‘युवा जनसंख्याको बाहुल्य रहेको नेपालमा लगानीको ठूलो अवसर छ । क्यासीजस्ता मञ्चहरूमार्फत लगानी, प्रविधि र विकासका अनुुभव ल्याउन हाम्रो प्रयास हुुुनुपर्छ ।’ मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रमा फड्को मारेको उनले बताए । ‘उत्पादन, उद्यमशीलता, व्यापार विकासका लागि गरिने प्रयासहरू दिगो हुनुपर्नेमा जोड दिएका डा भट्टराईले उद्यमशीलताका लागि लगानी तथा वित्तीय पहुँचमात्रै पर्याप्त नभएको बरु यसका लागि शिक्षा, तालीम तथा मेन्टरशीपको आवश्यकता पर्ने बताए । व्यापार घाटा, विप्रेषणमा आधारित अर्थतन्त्र र उपभोगमुखी बजार चुनौतीपूर्ण रहेको उनको भनाइ छ । अहिलेका यी अवस्था हटाउन सरकार प्रतिबद्ध हुनुपर्नेमा उनको जोड छ । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय सञ्जाल विस्तार, आइडियाहरू आदानप्रदान गर्न सम्मेलन लाभदायक हुने बताए । नेपाल एशिया प्रशान्त क्षेत्रका उद्यमीहरूका लागि आकर्षक लगानी गन्तव्य हुने भन्दै उनले जलविद्युत्, पर्यटन, सूचनाप्रविधि र उत्पादनमूलक क्षेत्र, पर्यटन पूर्वाधार होटेल, केबलकार, हिलस्टेशनलगायत प्रतिफल दिने क्षेत्र रहेको उल्लेख गरे । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले उद्योग, व्यवसाय तथा उद्यमशीलता क्षेत्रका साझा विषयमा छलफल र सहयोग रहने बताए । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (सीएसीसीआई) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा २ दिन चल्ने सम्मेलन मंगलवार (आज) सम्पन्न हुनेछ । क्यासी एशिया प्रशान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरू सदस्य रहेको संस्था हो ।

सम्बन्धित सामग्री

देउवालाई भेट्न जसपा नेता ठाकुर र महतो बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपतिको आह्वान अनुसार बिहीवारभित्रै गठबन्धन सरकार बनाइसक्नुपर्ने अवस्था रहेका बेला ठाकुर र महतो देउवालाई भेट्न पुगेका हुन् । सभापति देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो नयाँ सरकार बनाउने पक्षमा नरहेका महतो निकट स्रोतले जानकारी दियो । ‘अध्यक्ष ठाकुरलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने चर्चा शुरू भएको रहेछ तर उहाँल...