भैरहवा र सिमरा सेजमा रू. ९ अर्ब लगानी प्रस्ताव

काठमाडौं । भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न ८२ ओटा उद्योग/व्यवसायीबाट रू. ९ अर्ब लगानीको प्रस्ताव आएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले फागुन १५ गते यी  दुई सेजमा उद्योग स्थापना गर्न उद्योगीहरूसँग प्रस्ताव आ⋲वान गरेअनुसार ती उद्योगले उद्योग स्थापनाका लागि प्रस्ताव हालेका हुन् । प्राधिकरणले १५ दिनभित्र उद्योग स्थापनाको आशय प्रस्ताव गर्न आग्रह गरेको थियो । सिमरा सेजमा प्लटभन्दा कम आवेदन परेको छ । यता भैरहवा सेजमा भने प्लटभन्दा बढी उद्योगहरूले आवेदन दिएका छन् । भैरहवा सेजमा ४५ ओटा प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव माग भएकोमा ५५ ओटा उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । यी उद्योगको प्रस्तावित कुल लगानी रू. ७ अर्ब ५० करोड रहेको प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले बताए । भैरहवा सेजका लागि प्रस्तावित उद्योगहरू सञ्चालनमा आउँदा करीब २ हजारले रोजगारी पाउनेछन् । सिमरा सेजमा उद्योग स्थापनाका लागि खुलाइएका ६८ प्लटभन्दा कम प्रस्ताव परेको छ । यो सेजमा २७ ओटा उद्योग स्थापनाका लागि उद्योगीहरूले प्रस्ताव गरेका छन् । यी प्रस्तावित उद्योगको कुल लगानी रू. १ अर्ब ५० करोड रहेको छ । सिमरा सेजमा यी उद्योग सञ्चालन हुँदा करीब ७०० जनाले रोजगारी पाउनेछन् । विशेष आर्थिक क्षेत्र ऐन संशोधन, भाडादर आधा घटाउने र निर्यात सीमामा पनि लचिलो नीति लिएसँगै सेजमा उद्योग स्थापनाका लागि आकर्षण बढेको भट्टले बताए । ‘उद्योगीहरूले भैरहवा नै खोजे,’ उनले भने, ‘यो सेज प्राथमिकतामा परेको देखियो, सिमरा सेज भर्खर बन्दै गरेको र केही काम बाँकी हुनुका साथै सिमरा सेजका विषयमा धेरै जानकारी पनि छैन ।’ १५ दिनको सूचना निकाल्दा सिमरा सेजका विषयमा कम चासो देखिएको हुन सक्ने उनले बताए । सिमरा सेजका लागि अहिले व्यवसायीहरूबाट चासो आइरहेको छ । यो सेजमा कृषि प्रशोधनसम्बन्धी, अग्र्यानिक फर्टिलाइजर पेस्टीसाइज बनाउने, सिसाका सामग्री र इलेक्ट्रोनिक स्कुटर बनाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । सिमरा सेजलाई गार्मेन्टका लागि लक्षित गरेर स्थापना गर्न खोजिएको भए पनि सबैखाले उद्योग आउने सक्ने गरी प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । पहिलाको तुलनामा उद्योगी व्यवसायीहरू सेजमा आउन आकर्षित भएको पाइएको उनको भनाइ छ । उद्योगीहरूसँग छलफल, अन्तरक्रिया पुनः गरेर भएका अवरोधहरूलाई सहजीकरण गर्दा आकर्षण देखिएको छ । ‘भाडादर, मर्मतसम्भार र सञ्चालन खर्चका विषयमा प्रतिबद्धता देखाएका छौं,’ भट्टले भने, ‘यसले गर्दा पनि भैरहवामा आकर्षण देखिएको हो ।’ गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने क्रममा रहेकाले यहाँबाट निर्यात सहज हुने देखिएपछि उद्योगीहरू यसतर्फ आकर्षित भएको उनको तर्क छ । निर्यातको प्रतिशत पनि संशोधन गरिने भएकाले पनि उद्योगीहरूलाई सहज हुने देखिएको छ । उद्योग सञ्चालनको २ वर्षसम्म उद्योगी तथा व्यवसायीहरूले निर्यात गर्न नपर्ने र यो अवधिमा व्यवसायीहरूले बजार खोज्न सक्ने भएकाले सहज देखिएको छ । पहिला उद्योग स्थापनाको दोस्रो वर्ष नै ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान थियो, जसले गर्दा उद्योगीहरू पछि हटेका थिए । तर, यसलाई सरकारले सच्याउन लागेको छ । उद्योग स्थापनाको ३ वर्षमा २०, चौथोमा ४० र ५ वर्षमा ६० प्रतिशतसम्म उत्पादन निर्यात गर्ने प्रावधान बनाउन लागिएको छ । करीब ३ महीनामा विशेष आर्थिक प्राधिकरण ऐन संशोधन हुने र त्यसमा यी निर्यातको सीमालाई संशोधन गरिने उनको भनाइ छ । यद्यपि भाडादर रेट भने सञ्चालक समितिले पनि हेरफेर गर्न सक्ने भएकाले अबको १ हप्तामा भाडादर रेटका विषयमा निर्णय गरिने उनले जानकारी दिए । उनले अहिले जग्गा प्रतिस्क्वार मीटरको रू. २० छ भने यसलाई संशोधन गरेर रू. १० कायम गरिने बताए । यी उद्योगले १ वर्षभित्र सेजमा उद्योग  सञ्चालन गरिसक्नुपर्छ ।

सम्बन्धित सामग्री

भैरहवा र सिमरा सेजमा १७ अर्ब लगानी प्रतिबद्धता

भैरहवा र सिमराको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न १७ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता गरेका छन् । एक वर्षभित्र भैरहवा र सिमरा सेज पूर्ण रूपमा सञ्चालनमा आइसक्ने विशेष आर्थिक क्षेत्र...