कोरोना र फौजी कीराको प्रकोपमा म्याग्दीका किसान

म्याग्दी । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएका बेला खेतबारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो मारमा परेका छन् । जिल्लामा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका सहित ६ ओटै स्थानीय तहका कतिपय किसान कोरोना संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेला मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि नियन्त्रणमा समस्या भएको छ । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । बगरफाँटको ४०० रोपनीमा फैलिएको फाँटमा फौजी कीराले मकैबाली नष्ट गरिदिएको कृषक थापाको भनाइ छ । ‘खेती लगाएका किसान कोरोनाले थलिएका छन्, खेतमा मकै कीराले खाएर सिध्यायो, अब यस वर्ष खाद्यान्नको संकट हुने भयो,’ उनले भने । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसान मकैबाली पनि कीराले नष्ट गरिदिँदा निराश बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष किसानले रोग र भोकको सामना गर्नुपर्ने बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानको गुनासो छ । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानका अनुसार भर्खरै उम्रिएका मकैमा फौजी कीराको प्रकोप झन् बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।