नेपालमा बैंक शाखा स्थापनामा चिनियाँ पक्ष सकारात्मक

काठमाडौं  । चिनियाँ बैंकको शाखा नेपालमा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको ‘चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)’का उच्च अधिकारीले नेपालसहित दक्षिण एशियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिएका हुन् । ‘नेपालमा मात्र नभई दक्षिण एशियाभर चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,’ सीसीपीआईटी उपाध्यक्ष चाङ साओकाङले सोमवार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘यसमा हामी गम्भीर छौं र अध्ययन पनि गरिरहेका छौं, चाँडै नै यो विषय सकारात्मक रूपमा सम्बोधन हुनेछ भन्ने मलाई विश्वास छ ।’ उपाध्यक्ष चाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिए । नेपाललगायत दक्षिण एशियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरूले सकारात्मक रूपमा लिइरहेको उनको भनाइ छ । छलफलमा नेपाली व्यवसायीले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । सीसीपीआईटीको सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष चाङ आइतवार काठमाडौं आएका हुन् । भ्रमण टोलीले चार दिन नेपालका व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।