पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात, आर्थिक वर्षका तुलनामा २५ प्रतिशतले उत्पादन वृद्धि

पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला […]

सम्बन्धित सामग्री

पर्वतमा करीब २५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

पर्वत । पर्वतको मुख्य निकासीयोग्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादनमा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन करीब २५ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै बढेको हो । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निकासी भएको ज्ञान केन्द्रले बताएको छ । गत कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म जिल्लाको सुन्तला निकासी भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थित बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । निकासी भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रू. २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औसत रू. ७० को दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।   जिल्लामा अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सोमध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ । उत्पादित सुन्तलामध्ये झन्डै १५ प्रतिशत स्थानीय उपभोगमै खर्चिएको अनुमान छ । गतवर्ष पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष ११ प्रतिशत बढी क्षेत्रफलमा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग तथा बगैंचा सुधार गरेको र यस वर्ष हावाहुरी असिना नपरेकाले सुन्तला उत्पादनमा वृद्धि भएको हो,’ उनले भनिन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतका जलजला, मोदी, महाशिला र पैंयु गाउँपालिकाका साथै फलेवास नगरपालिकाका विभिन्न वडालाई सुन्तला जोन र ब्लकको रूपमा विकास गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कमा  सबैभन्दा बढी सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट भन्डै रू. आठ करोडको सुन्तला निकासी भएको छ । रासस