अभियान टिप्स : कार्डविना एटीएमबाट कसरी पैसा निकाल्ने ?

काठमाडौं। अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्न सक्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डविना नै पैसा झिक्न पाउने सेवा हो । एटीएम कार्ड नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन उक्त कार्ड चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसका लागि ग्राहकहरू स्मार्टफोन प्रयोगकर्ता भने हुनैपर्छ ।  मोबाइल बैंकिङ सेवा लिएका ग्राहकका लागि कार्ड र चेकविनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम कार्डबाट वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे । कसरी लिने कार्डलेस सेवा ?  कार्डलेस एटीएम सेवा लिन पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको रकम ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाका लागि प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ । एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ ।  प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी नम्बर राखेपछि एटीएम कार्डविना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ । ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्नेछन् । त्यस्तै एक दिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । बढ्दैछन् कार्डलेस सेवा प्रयोगकर्ता  नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिस एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको शुरुआत गरेका थिए । यसको माध्यमबाट पैसा झिक्ने ग्राहक निरन्तर बढिरहेका छन् । पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो । एटीएम बिर्सिए/हराए वा एटीएमको पिनकोड बिर्सिएमा पनि ग्राहकलाई पैसा झिक्न अप्ठ्यारो नहोस् भनेर एटीएमबाट पैसा निकाल्ने सुविधा मोबाइल बैंकिङसँग जोडिएको हो । कार्डलेस एटीएमका फाइदा एटीएम कार्ड बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायत कार्डलेस एटीएमका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले सीमित बैंकको च्यानलभित्र मात्र कायम छ । यसका लागि कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैंकिङ सेवाकै शुल्कमा यो सेवा दिइएको छ । अहिले सम्बन्धित बैंकको एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर–बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् ।  नेपालमा कार्डलेस एटीएम सेवाको इतिहास नेपालमा कोभिड संक्रमणको समयमा साविक सन्राइज बैंकले पहिलोपटक कार्डलेस एटीएमको शुरुआत गरेको थियो । अहिले यो सुविधा केही बैंकले दिँदै आएका छन् । नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट सञ्चालित हुने गरेको छ । अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दै गएका छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकहरूको विश्वास छ ।