यूरोपभर चिप उत्पादन बढाउने योजनामा ईयू भयो सहमत

काठमाडौं । यूरोपको संसद र यूरोपेली संघ (EU)को सदस्य देशहरूले यूरोपभर चिपको आपूर्ति बढाउने योजनामा सहमति गरेका छन् । एशियाली आपूर्तिकर्ताहरूमाथिको निर्भरता कम गर्ने होडबीच मंगलवार सो सहमति भएको हो ।  कोरोना भाइरस (CoronaVirus) को महामारीका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएपछि विश्वभर चीपको चरम अभाव भएको थियो । त्यसपछि यस्तो चिप आयातमा निर्भर देशहरूले स्थानीय स्तरमा चिप उत्पादनमाथि जोड दिएका छन् । एशियाली विशेषगरी चीन र ताइवानका कम्पनीहरूको चिप उत्पादन र निर्यात बजारमा दबदबा छ ।  पछिल्लो सम्झौताले प्रतिस्पर्धामूलक चिप उद्योगको जन्म गराउने अनि विश्वको बजार हिस्सामा जग बनाउन सहयोग गर्ने आशा गरिएको छ । पछिल्लो सम्झौतामा ईयूले विश्वको चीप बजारमा आ-आफ्नो हिस्सा अहिलेभन्दा दोब्बर बनाएर सन् २०३० सम्ममा २० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ । यसका लागि निजी र सार्वजनिक क्षेत्रबाट ४३ अर्ब यूरोभन्दा धेरैको लगानी परिचालित गर्न खोजिएको छ । सन् २०३० सम्ममा बजार हिस्सा दोब्बर बनाउन ईयूले उत्पादनलाई चौब्बर बनाउनु पर्नेछ । यो योजनामा लगानी भने अहिलेको ईयू बजेट मनीबाट आउनेछ । ईयूले अनुसन्धान र विकासको लागि ३ अर्ब ३० करोड यूरो पनि परिचालन गर्नेछ । यो सम्झौतामा संकटको समयमा आपूर्ति अभावलाई निगरानी गर्ने प्रणाली पनि छ । युक्रेनी युद्ध जस्ता भूराजनीतिक झट्का कारण हुन सक्ने अप्ठ्याराले यूरोपमा पार्न सक्ने असर कम गर्न पनि पछिल्लो सहमति भएको हो । गएको वर्षको शुरुतिर रुस (Russia) ले युक्रेन (Ukraine) माथि आक्रमण गरेपछि ईयूलाई रुसी जैविक इन्धनको विकल्प खोज्न निकै सकस भएको थियो । यूरोप (Europe) मा चीपको निकै ठूलो माग छ । अमेरिकी कम्पनीहरू मात्रै नभएर यूरोपेली कम्पनीहरूले पनि यहाँ चिप उत्पादनका लागि पैसाको खोलो बगाएका छन् । एजेन्सी