पहिलो बैठकमै बालेनलाई र्‍याखर्‍याख्ती ! 'बैठक कसरी चलाउने भन्ने कुरा सिक्नुस इन्जिनियर साप !'

जेठ १६, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वडा अध्यक्षहरूले पहिलो बैठकमै र्‍याखर्‍याख्ती पारेका छन् । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ढल सफाइको एजेण्डाका रुपमा ल्याउनुपर्नेमा सिधै पास भयो भनिएकामा आपत्ति जनाएपछि नगर सभामा बादबिबादकै अवस्था सिर्जना भयो । उनले भने, ‘कार्यपालिका सदस्यहरु चाहिँदैन । यस्तो कुरा अरुसँग चल्छ, हामीसँग चल्दैन ।’ उनले यो प्रस्ताव फिर्ता लिन माग गरे, जसमा अरु वडाध्यक्षहरुले पनि सहमति जनाए । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तावमै नभएको कुरा निर्णय भयो भन्ने हिसाबले बाचन गरेपछि रिजालले आपत्ति जनाएका थिए । रिजालको आपत्तिमा अरु वडाअध्यक्षहरूले पनि टेबल ठोकेपछि पौड्यनलले मेयर सा’बको अनुमतिले यो फिर्ता भयो भन्ने घोषणा गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन् । उनले फोहोर व्यवस्थापन कार्यदलमा दलीय प्रतिनिधित्वको कुरा गरेकोमा आपत्ति जनाए । उनले अघि भने, ‘हामीले पार्टीको कुरा गरेका छौं ? कांग्रेसको एक जना, एमालेको एक जना भन्ने तपाई को ?’ प्रस्ताव आएपछि कार्यपालिकाले बहुमतका आधारमा निर्णय गर्न सक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिन आग्रह गरे । कार्यपालिका सदस्यहरुको अपमान गरेको भन्दै उनले भने, ‘एक लाख ९० हजारको भोट पाएर आएका जनप्रतिनिधिहरु छन् । तपाईंले फिर्ता लिएर मेयर साबले टेबल गर्ने हो ।’ पौडेल हच्किए र मेयरलाई माइक दिए । मेयर साहले पनि प्रस्ताव नै हो भन्दै थुम्थुम्याउने प्रयास गरे । तर वडाध्यक्ष रिजाल रोकिएनन्, ‘उनले अबका दिनमा बैठकको उपस्थितिमा हस्ताक्षर नगराउन समेत आग्रह गरे । उनले अघि भने, ‘अब एजेण्डासहित मात्र पास हुन्छ ।’ मेयर साहले एउटै कुरा दोहोर्‍याइराख्नु परेन भनेपछि वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडा अघि सारे । उनले भने, ‘बैठक प्रक्रियागत हुनुपर्‍यो । प्रस्ताव गर्ने, समर्थन गर्ने, अनुमोदन गर्ने, माइन्यूट कसरी गर्ने पनि सिक्नुपर्ने हो त हामीले अब ?’ वडाध्यक्षहरुले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे । वडाध्यक्ष होडाले व्यंग्य गरे, ‘संसदीय बैठक प्रणाली सिक्नुस् । मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।’ केके भयो निर्णय ? त्यसपछि मेयर साहले सुरुमा छलफल गरेर आउन पाएको भए सहज हुने स्वीकार गरे । त्यसपछि उनले बुँदागत रुपमा निर्णय प्रस्ताव गरे । महानगरबासीलाई धन्यवाद दिने, फोहोर मैला व्यवस्थापनका लागि सहकार्य गरेर ५/६ जना रहने कार्यदल बनाउने प्रस्ताव गरे । रेष्टुरेन्ट र पेट्रोल पम्पहरुसँग सार्वजनिक शौचालय सञ्चालनका लागि सहमति गर्ने प्रस्ताव गर्दै उनले सोधे, ‘यो पास भयो ?’ वडाध्यक्षहरुले टेबल ठोकेपछि मेयर साह अर्को प्रस्तावमा अघि बढे । विहान राष्ट्रियसभा गृहमा सपथ लिएपछि सुन्धारास्थित महानगर कार्यालयमा पुगेर पदभार सम्हालेका उनले नगर कार्यपालिकाको पहिलो बैठक पनि सोमबार नै राखे । तर पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट ‘बैठक सञ्चालनको प्रक्रिया सिकेर आउनुस्’ भनेको सुन्नु परेको छ । रेष्टुरेन्टका शौचालय नै सार्वजनिक शौचालय सोमबार नै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राखे । सुरुमा परिचय, त्यसपछि धन्यवाद प्रस्ताव थियो । त्यसपछि उनले फोहोर मैला व्यवस्थापनको प्रस्ताव राखे । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उनले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको तथा हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताए । फोहोरमैलाको व्यवस्थापन नभएसम्म खादा माला नलगाउने र उत्साह नमनाउने आफ्नो बाचा रहेको भन्दै उनले भने, ‘हामी हरेकको टाउकोमा हत्याको जिम्मेवारी परेको छ भनेर बुझ्नुपर्छ ।’ सोलिड वेष्ट (ठोस फोहोर) बारे आफूलाई पनि ज्ञान रहेको भन्दै उनले आधुनिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । ७५ प्रतिशत फोहोरलाई मलमा रुपान्तरण गर्न सकिने भन्दै उनले भने, ‘यसका लागि उपकरण ल्याउनुपर्छ, महानगरमा पनि प्रपोजल होला ।’ सिसडोेललाई बस्न योग्य बनाउनुपर्ने र बञ्चरेडाँडामा पनि फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनले आफू, उपमेयर समेत रहेको टोली बनाउने प्रस्ताव गरे । महानगरभित्र रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वननिक शौचालयका रुपमा प्रयोग गर्ने पनि उनले प्रस्ताव राखे । यसका लागि आफूले चेन रेष्टुरेन्टहरुसँग छलफल समेत गरेको भन्दै मेयर साहले महानगरले संकेत चिह्नहरु राखिदिनुपर्ने सुनाए । उनले अघि भने, ‘यो काठमाडौंबाट सुरु भएपछि देशभर हुनेछ भन्ने विश्वास छ ।’ आफ्नो चुनावी घोषणापत्रअनुसार गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने उनको अर्को प्रस्ताव छ । यस्तै सडकका खाल्डाखुल्डी पुर्ने, ढलको जाम हटाउने जस्ता काम गर्न तत्काल दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रस्ताव पनि राखे । हाम्रो पनि घोषणा पत्र छ नगर कार्यपालिकाको सदस्य रहेका वडाध्यक्षहरुले मेयरले अघि सारेका प्रस्तावमा आफ्ना धारणा राखे । यसअघि पनि वडाको नेतृत्व गरिसकेका वडाध्यक्षहरुले फोहोर व्यवस्थापनको समस्यालाई हलुका ढंगले नलिन आग्रह गरे । कल सेन्टर सञ्चालन गर्ने प्रस्ताव राम्रो भए पनि एक्सन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न गरे । मेयर साहले जवाफ दिए, ‘यसको काम त तत्काल गर्ने हो ।’ तर वडाध्यक्षहरुले काठमाडौंका सडक महानगरले मात्र नभई मेलम्ची खानेपानीदेखि नेपाल विद्युत प्राधिकरणले पनि भत्काउने गरेकाले उनीहरुसँग समन्वय गरेर मात्र काम गर्न सकिने सुझाए । वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले मेयर बालेनलाई म होइन, हामी भन्न सुझाए । ‘म नभनौं, हामी भनौं । म मात्र भनेर लोकप्रिय हुने कुरा नगरौं, हामी सबै मिलेर महानगर बननऔं, यसमा साथ दिन तयार छौं’ उनलेभने । यस्तै वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले आफूहरु पनि चुनावी घोषणापत्र बनाएर जनतामाझ गएको र त्यसअनुसार नै मत पाएर आएको बताए । कार्यपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रतिनिधि रहेको भएपनि मेयरले एक्लो महसुस गर्नु नपर्ने उनले बताए । वडाध्यक्ष पराजुलीले भने, ‘कुनै एउटा पार्टीबाट हामी निर्वाचित भयौं । पार्टीले निर्देश गरेअनुसार घोषणापत्र बनाएर जनममक्ष लिएर गयौं । जनताले त्यसकै आधारमा मत दिनुभयो । जो जो निर्वाचित भएर आएका छौं, त्यो घोषणापत्रमा उल्लेखित कार्यक्रमहरुलाई कार्यान्वयन गर्न अब हामी दत्तचित्त छौं । त्यसलाई सपोर्ट गर्न प्रमुखले उदारता देखाएर सबै जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने खाँचो छ ।’ हरेक काम गर्दा सल्लाह र छलफल गर्न आग्रह गर्दै उनले भने, ‘एजेण्डाहरु आउनुभन्दा पहिला दलका साथीहरुसँग एकचोटी सरसल्लाह गरेर यो यो एजेण्डा छ, के छ सुझाव भनिदिनुस् ।’ त्यसो नभए आउँदा दिनमा अप्ठ्यारो पर्ने वडाध्यक्ष पराजुलीले बताए । उनले अघि भने, ‘प्रमुखजीलाई के भन्न चाहन्छु भने प्लिज, बि केयर फुल एबाउट ह्वाट यू से ! प्लिज, बि करेक्ट एवाउट ह्वाट यू डू ! त्यसो भए हामी एक ढिक्का भएर जान सकिन्छ । बाँकी प्रमुखको हातमा छ, तपाईंको रोजी, हाम्रो छाडी ।’ उपमेयर सुनिता डंगोलले पनि बैठक अघि एजेण्डा अध्ययन गर्न पाए छलफल गर्न उपयुक्त हुने धारणा राखिन् र आगामी दिनमा त्यस्तो वातावरण बनाउने बताइन् । पहिलो बैठकमै प्रस्ताव फिर्ता उपमेयरले बोलिसकेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले निर्णयहरु प्रस्ताव गरे । फोहोर व्यवस्थापनसम्बन्धी कार्यदलमा मेयर, उपमेयर, कांग्रेसबाट २ वडाध्यक्ष, एमालेबाट उपमेयर र एक वडाध्यक्ष र एकीकृत समाजवादीबाट एक वडाध्यक्ष रहने भन्दै नाम लिन प्रस्ताव गरे । ७ दिनभित्र सार्वजनिक शौचालय, कल सेन्टर स्थापना र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय प्रस्ताव गरे । विविधिमा ३१ नम्बर वडाको दुईवटा बाटो, मुद्दा मामिलाको अख्तियारी दिने र नगर कार्यपालिका बोर्डले गरेको निर्णय भन्दै ४५ दिनभित्र महानगरको ढल सरसफाइ गर्ने सुनाए । उनले भने, ‘भोलिदेखि यो कार्य प्रारम्भ हुनेछ ।’ उनले यति भनेर बैठक समापन गर्न खोजेपछि वडाध्यक्षहरुले आपत्ति जनाएका थिए ।