टिकट नपाउँदा नयाँ बसपार्कमा सास्ती

काठमाडौं। दशैं मनाउन घर जाने टिकट नपाउँदा नयाँ बसपार्क पुगेका यात्रुले सास्ती मात्रै झेलेका छन् । सरकारले चाडपर्व मनाउन उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज होस् भनेर असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेको थियो । तर, समयअगावै टिकट सकिँदा यात्रुले सास्ती मात्रै खेप्नुपरेको हो । बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो । त्यही लाइनमा थिए, बर्दियाका समीर थारू । बिहान ३ बजेदेखि लाइनमा बसेको उनले बताए । करीब साढे ६ बजेतिर काउन्टर खुल्यो । काउन्टर खुल्नासाथ समितिका कर्मचारीले कात्तिक ४ गतेसम्मको सम्पूर्ण टिकट अग्रिम बुकिङ भइसकेको र ५ गतेपछिको मात्रै बाँकी रहेको जानकारीसहितको सूचना टाँसेपछि निद्रा माया मारेर रातिदेखि नै लाइन बसेका यात्रुको अपेक्षामा तुषारापात भयो । ५ गते महाष्टमी भएकाले त्यस दिनेको टिकट लिएर दशैं मनाउन नपाइने भएकाले चिन्ता लागेको थारूले बताए । ‘दशैंमा अष्टमीदेखि दशमीसम्मको ३ दिन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अष्टमीको दिनको टिकट लिए नवमीमा मात्रै घर पुगिन्छ । सबै यात्रुले सहजताका साथ टिकट पाउँदैनन् भने अग्रिम बुकिङको नाटक किन गर्नुपर्‍यो,’ उनले प्रश्न गरे ।  बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो ।  थारू प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता सयौं यात्रुले टिकट नपाएर सास्ती भोग्नु परेको यातायात क्षेत्रका व्यक्तिहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तुलनात्मक रूपमा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशतर्फका रूटमा यात्रु चाप अत्यधिक रहेकाले सबै यात्रुले टिकट नपाएको स्वीकार गरे । उनका अनुसार टिकट नपाएर सास्ती खेपिरहेका यात्रुका लागि थप गाडीको व्यवस्था गर्ने तयारी भइरहेको छ । ‘महासंघले कोही पनि यात्रुलाई अलपत्र पर्न नदिन थप गाडीको बन्दोबस्त गर्ने भएकाले कोही पनि आत्तिनुपर्ने छैन । यात्रुको चाप कम भएको क्षेत्रका गाडी ल्याउने वा नयाँ गाडी थप्ने भन्नेमा छलफल भएको छ । यस विषयमा चाँडै निर्णय हुन्छ र सबैले आफ्नो गन्तव्यमा जान पाउने छन्,’ उनले भने । दशैं मनाउन उपत्यकाबाट हरेक वर्ष ठूलो संख्यामा यात्रु बाहिरिने गर्छन् । यस वर्ष दशैंका लागि २२ लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ । त्यसलाई दृष्टिगत गर्दै असोज २६ देखि सरकारले सबै सार्वजनिक यातायातको रूट परमिट (सार्वजनिक सवारीसाधन जुनसुकै रूटमा चल्न पाउने) समेत खुला गर्ने निर्णय गरेको छ ।