संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्  ।   आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  संसदमा चोली चैत्र २ गते प्रधान न्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्द दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसुची थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध गर्दै आएको थियो । संघीय संसद सचिवालयले दुवै सदन अन्त्य भएको सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ 'सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/१२/०१ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्वत् २०७८ साल चैत १ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल फागुन २९ गतेको प्रतिनिधि सभाको बैठकबाट चैत २ गते बुधबारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल माघ १६ गते आइतबार अर्को सूचना नभएसम्मको लागि सूचनाद्वारा स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमश: प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'