सूचकहरु हेर्दा नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो छ : नेपाल बैंकर्स संघका अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रका बारेमा विभिन्न खालका चुनौतीको सामना गर्नु परेको बताएका छन्  । राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा बोल्दै उनले अहिले नेपालको बैंकिङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दावी उनले गरे । “ बैंकिङ क्षेत्रका सबै सूचक सहज रुपमा रहेका छन् । तरलताका हिसाबले सहज अवस्था छ । पुँजीका हिसाबले पनि सक्षम अवस्थामा रहेका छौं”, उनले भने, “विभिन्न सूचकहरुलाई हेर्ने हो भने अहिले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो छ । मौद्रिक सूचक सकारात्मक छन् । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ । भुक्तानी सन्तुलन कायम भएको छ । राजस्व बढ्दो क्रममा छ ।” बैंकिङ क्षेत्रमा करिब रु ६१ खर्ब बराबरको निक्षेप संकलन र रु ५१ अर्ब बराबरको कर्जा प्रवाह भएको बताए । मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रमा रुपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको उनले दाबी गरे । बैंकिङ क्षेत्रबाट भएको लगानीले भोलिका दिनमा ठूलो परिवर्तनको सम्भावना देखिएको उल्लेख गर्दै उनले जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा भएको लगानीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने बताए । अबको लगानी आर्थिक विकासलाई केन्द्रीत हुनेगरी गर्नुपर्ने केसीको भनाई छ । पर्यटन, सेवालगायतका क्षेत्रलाई पनि लगानीको केन्द्रमा राखेर कर्जा विस्तार गरिनुपर्ने उनले बताए । त्यस्तै, नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानीका लागि उनले बैंकिङ क्षेत्रलाई आग्रह गरे । विदेशबाट नेपालमा लगानी भित्र्याउनका लागि नेपालका बैंकसँग सहकार्य गर्नसक्ने पर्याप्त अवसर र सम्भावना रहेको उनले बताए । बैंकिङ क्षेत्र सुधारका लागि सरकारसँग पनि केहि अपेक्षा रहेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतीको चरणमा रहेकोमा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने अध्यक्ष केसीले बताए । त्यस्तै, आगाी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैंकिङ क्षेत्र आशावादी रहेको बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्मेलनबाट वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने र विज्ञहरुबाट सुझाव लिने अपेक्षा गरेको बताए । बैंकले प्रादेशिक रुपमा यस्ता कन्फ्रेन्स आयोजना गर्दै आएको भएपनि राष्ट्रिय रुपमा पहिलोपटक आयोजना गरिएको सिईओ श्रेष्ठले बताए । सम्मेलनमा वाणिज्य बैंकका देशभरका सबै शाखा कार्यालयका प्रमुख, प्रादेशिक शाखा प्रमुख, केन्द्रीय कार्यालयका उच्च व्यवस्थापन सहभागी छन् । हाल राष्ट्रिय अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतीबारे अर्थविद्, बैकिङविज्ञ र उद्यमीबीच छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि छलफल गर्ने र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

बैंक डुब्ने हल्लाको पछि नलाग्न राष्ट्र बैंकको सुझाव

काठमाडौं । बैंकमा राखेको पैसा डुब्दै छ भन्ने हल्लाले सर्वसाधारण तर्सिन थालेपछि नेपाल राष्ट्र बैंकले निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै आश्वस्त पारेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक वित्तीय संस्थामा ढुक्कसँग कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।  विभिन्न व्यक्ति तथा समूहको अभिव्यक्ति तथा आन्दोलनका कारण बैंक, वित्तीय संस्थाहरूको विश्वसनीयतामा नै असर पर्न थालेपछि वित्तीय क्षेत्रको नियमन गर्दै आएको केन्द्रीय बैंकले यसबारे पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको हो । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक, वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उसले बैंक, वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको देखिएको स्पष्ट पारेको छ ।  आफूले बैंक, वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको पनि राष्ट्र बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बेहोरा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ, ‘बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’ केन्द्रीय बैंकले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई भनेको छ– बैंक, वित्तीय संस्थामा रहेको निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुहोस् । केन्द्रीय बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू मापदण्डअनुरूप नै छन् । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायत अन्य विषयमा कुनै समस्या देखिएमा केन्द्रीय समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंक, वित्तीय संस्थाहरू अन्तरराष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यास समेतका आधारमा दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । लघुवित्त वित्तीय संस्थाहरूले अत्यधिक शोषण गरेको भन्दै शुरू भएको आन्दोलन पछिल्लो समय ऋण नतिर्ने भन्दै बैंक, वित्तीय संस्थाविरुद्ध केन्द्रित हुन थालेको छ । यसैगरी ठूला वाणिज्य बैंकमा रहेका निक्षेप नै असुरक्षित रहेको आशयका अभिव्यक्ति आउन थालेपछि केन्द्रीय बैंकले विज्ञप्ति जारी गरेको हो ।  यसअघि आइतवार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले छुट्टै प्रेस विज्ञप्ति जारी गरी वित्तीय प्रणालीमाथि धावा बोलिएको बताएका थिए । उनीहरूले बैंकप्रति अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।  यसअघि पनि ती संस्थाहरूले बैंकिङ क्षेत्रविरुद्धको अराजक गतिविधि नियन्त्रण गर्न माग गर्दै आए पनि सरकारले हालसम्म कुनै कारबाही अघि बढाएको छैन । त्यस्ता व्यक्तिलाई कारबाही गर्ने चेतावनी भने सरकारका मन्त्रीहरूले बारम्बार दिने गरेका छन् ।

आक्रमण जारी रहे कारोबार बन्द गर्छौं : बैंक सञ्चालक

काठमाडौं  । बैंक, वित्तीय संस्था र तिनका कर्मचारीमाथि आक्रमण जारी रहे बैंकिङ कारोबार बन्द गर्ने सञ्चालकहरूले चेतावनी दिएका छन् । बैंक, वित्तीय संस्था सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी बैंक, वित्तीय संस्थाविरुद्ध आक्रमण गर्ने व्यक्ति वा समूहविरुद्ध कानूनी कारबाही र बैंकिङ व्यवसाय सञ्चालनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन समेत सरकारसँग माग गरेको छ ।  बैंक, वित्तीय संस्थाहरूले कर्जा असुलीमा जोड दिएपछि पछिल्लो समय व्यवसायी र बैंकबीच विवाद बढेको छ । कतिपय जिल्लामा व्यवसायीले बैंकविरुद्ध आन्दोलन गर्नुका साथै कतिपय जिल्लामा बैंकका कर्मचारीमाथि भौतिक आक्रमण नै हुन थालेपछि सञ्चालकहरूले प्रतिरोध गरेका हुन् । शुक्रवार बसेको परिसंघको बैठकले कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने वा आफ्नो काम गर्न नदिने प्रयास विभिन्न स्थानमा निरन्तर रूपमा भइरहेको भन्दै बैंक, वित्तीय संस्था र कर्मचारीमाथि आक्रमण गर्ने व्यक्ति वा समूहविरुद्ध कानूनी कारबाहीका लागि उजुरी गर्ने निर्णय गरेको छ ।  ‘कानूनद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदत्त अधिकारको प्रयोग गर्दै कर्तव्य पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता सरकार र अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेछ ।’  ‘व्यक्ति, समूह वा संघसंस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सृजना गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाविरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने तथा कडा कारबाहीका लागि सम्बद्ध निकायमा उजुरी गर्न सिबिफिन र यसमा आबद्ध सबै पूर्ण रूपमा प्रतिबद्ध छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था र कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्धत सबैसमक्ष जोडदार  माग गर्दछौं ।’  बैंकहरूलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन नसक्ने हो भने बैंकिङ सेवा पूर्णरूपमा बन्द हुने समेत संघले चेतावनी दिएको छ । ‘सुरक्षित वातावरणमा प्रचलित कानूनद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदत्त अधिकारको प्रयोग गर्दै कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता सरकार र अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाको हक, हित संरक्षण तथा संवद्र्धनमा गम्भीर संकट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सृजना हुने भएकोले सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।’ यसअघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पनि संयुक्त विज्ञप्ति जारी गरी बैंक, वित्तीय संस्थाको सेवा प्रवाहमा अवरोध, कर्मचारीलाई धम्कीजस्ता गतिविधि जारी रहे त्यसविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।  पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोडलगायत स्थानका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका केही शाखाको सेवा प्रवाहमा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित गरेको संघहरूले बताएका छन् । यसअघि नेपाल लघुवित्त बैंकर्स संघले पत्रकार सम्मेलन नै गरेर बैंक, वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि जारी रहने, राज्य संयन्त्रबाट असहयोग हुने र सुरक्षा व्यवस्थामा सुधार नहुने हो भने सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिइसकेको छ ।

अराजक गतिविधि नरोके सेवा बन्द : लघुवित्त बैंकर्स संघ

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ती संस्थाविरुद्ध चलिरहेका अराजक गतिविधि जारी रहे सेवा नै रोक्ने चेतावनी दिएका छन् । लघुवित्त बैंकर्स संघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अराजक गतिविधि जारी रहने, राज्य संयन्त्रबाट असहयोग हुने र सुरक्षा व्यवस्थामा सुधार नहुने हो भने अझ कडा कदम चाल्ने बताएको छ । संघका महासचिव रामबहादुर यादवले परिस्थितिमा सुधार नआए सम्पूर्ण सेवा बन्द गर्ने जस्तो अप्रिय निर्णय लिन बाध्य हुने बताए । संघले लघुवित्त वित्तीय संस्थाविरुद्धका अराजक गतिविधि रोक्दै शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएको छ । महासचिव यादवले प्रधानमन्त्रीबाट समस्या समाधानको पहल हुनेमा आशावादी रहेको बताए । पछिल्लो समय केही व्यक्ति र राजनीतिक समूहले लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति नै खडा गरी संवेदनशील क्षेत्रमा आन्दोलन गर्ने, संस्थाका कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीमाथि हातपात गर्ने, कार्यालय तोडफोड गर्ने लगायत गतिविधि गरिरहेको संघको भनाइ छ । संघका पूर्वअध्यक्ष बसन्त लम्सालले राजनीतिक पार्टीसम्बद्ध व्यक्ति संलग्न आन्दोलनका कारण लघुवित्त संस्था र लघुवित्तकर्मी असुरक्षित भएको बताए। लघुवित्त संस्थाहरूको खारेजी, ऋण मिनाहा, शून्य ब्याजदरमा ऋण, जस्ता अस्वाभाविक माग राखी केही समूह लागिपरेको उनले बताए। हरेक दिनजसो लघुवित्त संस्था र लघुवित्तकर्मीविरुद्ध आन्दोलन गर्ने, कार्यालयमा ताल्चा लगाउने, कर्मचारीमाथि हातपात गर्ने जस्ता गतिविधि बढे पनि राष्ट्र बैंकलगायत नियामक निकायबाट यस्ता क्रियाकलाप अन्त्य गर्न पहल नभएको उनको गुनासो छ । यसैबीच नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी बैंक, वित्तीय संस्थाको सेवा प्रवाहमा अवरोध, कर्मचारीलाई धम्की जस्ता गतिविधि जारी रहे त्यसविरुद्ध चारओटै संस्था सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा सोमवार पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोडलगायत स्थानका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका केही शाखाको सेवा प्रवाहमा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित गरेको भन्दै उक्त कार्यको निन्दा गरिएको छ । उनीहरूले बैंक वित्तीय संस्था, कर्मचारी र ग्राहकको सुरक्षाका लागि सुरक्षा निकाय गुहारेका छन् । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्नुपर्नेमा जोड दिँदै ऋण नतिर्न अराजक गतिविधि गर्न 'लाई तुरुन्तै कारबाहीको दायर मा ल्याउन पनि माग गरिएको छ । ग्राहकहरू सेवा लिन आउँदा अवरोध गरिएमा वा शाखा सञ्चालनमा बाधा पुयाइएको खण्डमा सुरक्षा निकायले आवश्यक कदम चाल्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् ।

ऋण नतिर्ने बहानामा बैकिङ सेवा अवरुद्ध गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । ऋण नतिर्न बैंकिङ सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न माग गर्दै बैंक तथा वित्तीय संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन् । ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्न पर्ने […]

बैंकिङ क्षेत्रमा मडारिएको संकट

पछिल्लो समयमा देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध दबाब र त्रास फैलाउने अराजक गतिविधि बढ्दै गएको समाचार दिनहुँजसो बाहिरिरहेका छन् । यस्ता घटनक्रमले बैंक तथा वित्तीय संस्थाका क्रियाकलापलाई प्रभावित पारी देशको अर्थतन्त्रलाई थप संकुचनमा पुर्याउने हो कि भन्ने चिन्ता बढाएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल […]

वित्तीय क्षेत्रमाथि भएको आक्रमण रोक्न माग

काठमाडौं । बैंकिङ क्षेत्रका संघसंगठनले पछिल्लो समय केही व्यक्ति तथा समूहले वित्तीय क्षेत्रका कर्मचारीमाथि गरेको सांघातिक आक्रमण, अराजक व्यवहार र उनीहरूप्रति लक्षित धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रवार संयुक्त, विज्ञप्ति जारी गरी बिरोध गरेका हुन् । बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी जबरजस्ती कानुन आफ्नो हातमा लिनेलाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूलाई अनुरोध गर्छौं’ विज्ञप्तिमा भनिएको छ । यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्तत: अर्थतन्त्र नै धराशयी बनाउने भएको भन्दै उनीहरूले सजग रहन सबैलाई आग्रह गरेका छन् ।

‘कर्जा लिएर तिर्दिन भन्नु अराजकता’

काठमाडौं । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका साथै कर्मचारीमाथि आक्रमण हुन थालेपछि बिहीवार बैंक, वित्तीय संस्थाका चारओटा छाता संगठनले संयुक्त विज्ञप्ति जारी गरी ऋण नतिर्ने, कर्मचारीलाई मोसो दल्ने, आन्दोलन घोषणाजस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका हुन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्तीय संस्था संघ र लघुवित्तहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी अराजक क्रियाकलाप नियन्त्रण गर्न माग गरेका छन् । ‘पछिल्लो समय केही व्यक्तिले बैंक/वित्तीय तथा लघुवित्त संस्थाविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारी हतोत्साही हुने गरी दिइएका धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहारप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून हातमा लिई हुने अराजक घटनालाई समयमैै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको छ भन्नेमा हामी विश्वस्त छौं ।’ बैंक, वित्तीय संस्थाहरूले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीमार्फत ४८ खर्ब रुपैयाँभन्दा धेरै कर्जा परिचालन गर्दै आएका छन् । यस क्षेत्रले ५३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्ब रुपैयाँभन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा ब्याजदर छूटमार्फत ऋणीलाई प्रत्यक्ष रूपमा १० अर्ब रुपैयाँभन्दा धेरै छूट दिएका छन् । यस्तै देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झन्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा धेरै ऋणीलाई सेवा प्रदान गर्नुका साथै २३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी प्रदान गरेको समेत विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय तथा लघुवित्त संस्थाले नियामक निकायले जारी गरेका नीति/निर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ सेवा प्रदान गर्दै आएको र उनीहरू आफ्ना ग्राहकको हकहिततर्फ सदैव सचेत रहने भएकाले कानूनविपरीत कुनै पनि गतिविधि नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । केही समस्या भएको खण्डमा सम्बद्ध संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने उनीहरूको भनाइ छ । यस्तै बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाको साथ र सहयोगकोे अपेक्षासमेत संघहरूले गरेका छन् ।

'ब्याजमा छुटको विषय मौद्रिक नितीमा सम्वोधन हुनुपर्छ'

लामो लकडाउनमा मुलुकको बैंकिङ क्षेत्रमा पनि असर परेकोले सरकारले ब्याजमा छुट दिने विषयमा गरेको निर्णय बैंक वित्तीय संस्थाको हितमा नभएको नेपाल बैंकर्स संघ (एनविए)का पूर्व अध्यक्ष राधेश पन्तले बताएका छन्।

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने

राजधानीको भृकुटीमण्डपमा माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो हुने भएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो। नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र…