उत्तर प्रदेश सरकारले २०२२ भित्र चलाउने वाचा गरेको मेट्रो रेल १ वर्षअघि नै सञ्चालनमा

पुस १३, काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित कानपुर शहरमा मेट्रो रेल सञ्चालनमा आएको छ। ३२ किलोमिटर लम्बाई मध्ये पहिलो चरणमा निर्माण सकिएको ९ किलोमिटर रेल सञ्जालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्। कानपुरदेखि मोतीझीलसम्मको ९ किलोमिटर रेलमा ९ ओटा स्टेशन राखिएको छ। मंगलवार एउटा रेलमा प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तर प्रदेश रेल विभागका अधिकारीले यात्रा गरेर उद्घाटन गरेका हुन्। कानपुरमा मेट्रो रेल सञ्चालनमा आएसँगै उत्तर प्रदेशका ५ ओटा शहरमा मेट्रो रेल सेवा शुरु भएको मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन्। बुधवारदेखि उक्त रुटमा एक साथ १२ ओटा रेल सञ्चालनमा आउने छन्। शुरुवातमा यी रेलहरु हरेक स्टेशनमा १० मिनेट रोकिएर यात्रा गर्ने छन्। रेलको संख्या थपिएपछि स्टेशनमा रोकिने समय पनि कम हुदै जाने बताइएको छ। कानपुरदेखि मतीझील सम्मको भाडा ३० भारतीय रुपया तोकिएको छ। यसको न्युनतम भाडा भने १० भारतीय रुपया मात्रै तोकिएको छ। कानपुर मेट्रो रेलको टिकटहरु पनि क्यूआर कोडसहितको हुने बताइएको छ। उत्तर प्रदेश रेल विभागले ९ किलोमिटर रेलको ट्याक २ वर्षमै तयार पारेको हो। यो ९ किलोमिटर दुरीमा ९ ओटा स्टेशन राखिएको छ। ३२ किलोमिटर लम्बाईको यो परियोजनाको लागत ११ खर्ब भारतीय रुपैयाँ रहेको छ। दोस्रो चरणको काम पनि द्रुत गतिमा भइरहेको बताइएको छ। नेपालमा पनि गत चुनावमा मेट्रो रेल र मोनो रेल ल्याउने वाचा गरेका राजनीतिक दलहरुले भने ५ वर्षसम्म यसको नामै लिन सकेनन्। नेपालले समयमै मेट्रो रेलको सुरुवात गर्न नसके अवको ८/१० वर्षमै काठमाडौंका हरेक चोकमा कोटेश्वर/जडीबुटीको जस्तै जाम हुने पूर्वाधार विज्ञ सुर्यराज आचार्यले बताए। उच्च जनघनत्व तर अत्यन्तै न्युन सडक पूर्वाधार भएको काठमाडौंले मेट्रोरेल निर्माणका लागि गरेको आलटाल भविष्यका लागि महंगो पर्ने उनको भनाइ छ।