ओली-नेपालबीचको वार्ता निष्कर्षविहीन, नेपाल पक्षको राट्रिय भेला नरोकिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान दोहोर्‍याएपछि निष्कर्षमा पुग्न नसेकोको हो । अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिई बैठक गरेर एकपक्षीयरुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको हुँदा त्यस दिनका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षले अडान लिएको छ । त्यसो नगरे आफूहरुले चैत ४ र ५ गतेका लागि बोलाएको कार्यकर्ता भेला नरोक्ने बताएका छन् । वार्ता सकारात्मक भएको तर कुनै सहमति हुन नसकेको नेपाल पक्षीय नेता भीम रावलले बताउनुभयो । आफूहरुले फागुन २८ गतेको निर्णय रद्द गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । उहाँले फागुन २८ गते बसेको केन्द्रीय समितिको निर्णय मान्ने हो भने सर्वोच्च अदालतको फैसला नमानेको ठहरिने दाबी पनि गर्नुभयो । ‘हामीले त साझारुपमा सहमति नभएका सबै गतिबिधि रोकौं भन्ने प्रस्ताव गरेका छौं, ती स्थगित गर्नुको अर्थ फागुन २८ गते गरेका निर्णय रद्द गर्नुपर्छ, ती निर्णय रद्द भएमा हामी पनि स्थगित गरेर साझारुपमा अघि बढ्न तयार छौं भनेर स्पष्टरुपमा राखेका छौं,’ उपाध्यक्ष रावलले भन्नुभयो । गत फागुन २८ गते अध्यक्ष ओली पक्षको बैठकले २३ जना पूर्वमाओवादीका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएको थियो ।