हनुमानढोका दरबार क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल

पुस १४, काठमाडौं । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महीनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।  साउन महीनामा दक्षिण एशियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महीनामा अन्य देशका ७१ र दक्षिण एशियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए । असोज महीनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४७२ र दक्षिण एशियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या तीन गुणाले बढ्यो ।  कात्तिकमा अन्य देशका एक हजार ५१८ र दक्षिण एशियाली देशका ५८५ गरी दुई हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन् । कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मंसिरमा भने पर्यटकको संख्या केही घटेको छ । मंसिरमा अन्य देशका एक हजार २२० र दक्षिण एशियाली देशका ६५३ गरी एक हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि रू. १५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने रू. एक हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए । पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा रू. १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६/२०७७ मा रू. ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ । यो वर्ष रू. १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष मंसिर मसान्तसम्म रू. ३६ लाख शुल्क उठेको छ । विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ ओटा काउन्टरको व्यवस्था गरेको छ । जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ ओटा काउन्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन् । रासस