२ हाइड्रोको लागि २५.९२ अर्ब लगानी स्वीकृत, ९०० मेगावाटको माथिल्लो कर्णालीलाई म्याद थपको सिफारिस

लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकासको लागि लगानी स्वीकृति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न रु २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको हो । लगानी स्वीकृति हुनेमा रु १६ अर्ब ४५ करोड ९८ लाख लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र रु ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन् । बैठकले पश्चिम सेती र सेती नदी-६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने साथै NHPC Limited , Government of India Enterprise ले उक्त परियोजना वार्ता द्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।त्यस्तै बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी GMR- Upper Karnali Hydropower Company Ltd ले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ । त्यसैगरी बैठकले Vehicle Manufacturing and Assembly Plant परियोजनाको विकासका लागि प्रस्तावक Motrex Co. Ltd. संग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिएका थिए।