काठमाडौं । बिहीवार काठमाडौंमा सम्पन्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं साधारणसभाबाट गणेश कार्की सर्वसम्मत अध्यक्ष निर्वाचित भए । नेपालका लागि मौरिससका तर्फबाट वाणिज्य दूतसमेत रहेका कार्की सामाजिक कार्य गर्ने दर्जनौ संघसंस्थाको पनि नेतृत्वमा छन् ।
२०२४ सालमा झापाको तोपकाक्षी (कमल गाउँपालिका)मा जन्मिएका कार्कीले २०५७ सालदेखि ऊर्जा क्षेत्रमा चासो राख्न थालेका थिए । २०६४ देखि विद्युत आयोजनामा काम गर्न थालेका कार्की त्यसको १६ वर्षपछि देशभरका ऊर्जाउद्यमीहरूको साझा संस्था इप्पानको अध्यक्ष निर्वाचित भएका हुन् ।
धरानमा विद्यालय शिक्षा पूरा गरेपछि २०४३ मा उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । त्यसपछि उनी फर्केर गाउँ जानु परेन । पछिल्लो २५ वर्षदेखि कार्की ललितपुर सानेपामा बस्दै आएका छन् ।
सानै उमेरदेखि खेलकुदमा रुचि भएका कार्कीले काठमाडौ आएपछि बौद्धमा कराँते सिक्न गएको बताए । २०४८ सालताकै कराँतेमा ‘बल्याक बेल्ट’ जितेका कार्की त्यसपछि कराँतेको राष्ट्रिय रेफ्री पनि बनेका थिए ।
‘खेलुकमा लाग्दा अनुशासित र आत्मविश्वासी भइँदो रहेछ ।’ कार्कीले भने, ‘हारे पनि अर्कोपटक जितिन्छ भन्ने सकारात्मक सोच राख्न पनि खेलकुदले नै सिकायो । खेलकुदका यीनै सुत्रले हरेक क्षेत्रमा सफल हुन प्रेरणा दिएको हो ।’
२०४५/४६ तिर कार्कीले गलैंचामा काम गर्न सुरु गरेका थिए । पछि २०५१/५२ मा गलैंचाको आफ्नै व्यवसाय पनि सुरु गरेका थिए । तर, त्यो व्यवसाय त्यति सफल हुन सकेन । उनले त्यसमा समय खेर फालेनन् । २०५२/५३ सालमा पस्मिनाको व्यवसाय सुरु गरे । पस्मिनाको लागि चाहिने धागो आयात गरेर बेच्ने काम गरेका कार्कीले पछि पस्मिना बनाउन पनि सुरु गरेका थिए । त्यो व्यवसाय पनि लामो समयसम्म जान सकेन ।
२०५४/५५ तिर कार्की अध्ययनको लागि चीन गए । व्यवस्थापन पढ्न चीन गएका कार्कीको भेट नेपालमा जलविद्युत आयोजना बनाउन सुरु गरेका व्यवसायी सँग भयो । त्यसपछि उनले नेपालमा कहाँ कसले जलविद्युत आयोजना बनाइरहेका छन् भनेर अध्ययन गरे । उनीहरूलाई के के सामान चाहिन्छ भन्ने एकिन गरेर त्यस्ता सामान चीनबाट नेपाल आपूर्ति गर्न थाले ।
निजी क्षेत्रबाट बनेका आयोजनामध्ये खिम्ति २०५७ असार र भोटेकोशी २०५७ माघमा सञ्चालनमा आएको थियो । १८३ किलोवाट (०.१८ मेगावाट) क्षमताको निजी क्षेत्रले बनाएको स्याङ्गे खोला २०५८ माघमा मात्रै सञ्चालनमा आएको थियो । २०५९ असोजमा ७.५ मेगावाटको इन्द्रावती-३ आयोजना सञ्चालनमा आयो । त्यसपछि जलविद्युतमा निजी क्षेत्रको प्रवेश ह्वात्तै बढ्दा कार्की पनि यहि क्षेत्रमा होमिएका थिए ।
यसको केही समयपछि उनी लमजुङ स्थित ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजनामा प्रबन्ध निर्देशक भएर निर्माणमा खटिए । न्यादी ग्रुप प्राली प्रवर्द्धक रहेको उक्त आयोजना २०६४ मा सुरु भएर २०६९ मा सकियो । आयोजनामा ५ वर्ष बिताएका कार्कीले भने जलविद्युतमा निकै ठूलो सम्भावना देखे । उनी निकै सक्रिय भएर जलविद्युतमा लागेको २०७० पछि मात्रै हो ।
सिउरी खोलामा काम गरेको अनुभवले कार्कीले ललितपुरमा २ ओटा आयोजना बनाए । खानीखोला हाइड्रोपावर कम्पनीमार्फत ४.३ मेगावाटको टुङ्गुन ठोस्ने र २ मेगावाटको खानीखोलाबाट ४ वर्षभित्रै विद्युत उत्पादन गर्न सफल भए । लमजुङमा ३ मेगावाटको मिदिम खोलाबाट पनि २०७४ मै विद्युत उत्पादन सुरु भयो ।
लमजुङमा ५ मेगावाटको आयोजना बनाउँदा कार्कीले जलविद्युत आयोजना कसरी बन्दो रहेछ भन्ने ज्ञान पाए । सबैसँग सहजै घुलमिल हुन सक्ने स्वभावका कार्कीले बैंक/वित्तीय संस्थादेखि सरकारी क्षेत्र र निजी क्षेत्रका व्यवसायीसम्ममा सम्बन्ध विस्तार गरे ।
त्यसपछि कार्की एकैपटक २२/२५ मेगावाटका आयोजना बनाउन कस्सिए । २०७८ मा २२ मेगावाटको अपर चाकु-ए र २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भयो ।
केहि दिन अघि मात्रै उनले व्यवस्थापन हेरेको १९.८ मेगावाटको अपर सोलु जलविद्युत आयोजना र लगानीकर्ताका रुपमा बोर्ड सदस्य रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन सुरु भइसकेको छ । सबै गरेर कार्की संग्लग्न भएका आयोजनाबाट १३५ मेगावाट विद्युत उत्पादन भइसकेको छ ।
त्यस्तै २६ मेगावाटको सुपर खुदी, २१ मेगावाटको सवा खोला, ६.२ मेगावाटको सवा खोला क्यासकेड, ५ मेगावाटको हेवा खोला र ४० मेगावाटको खानी खोला जलविद्युत आयोजना निर्माणाधिन छन् । यी सबै आयोजनाको क्षमता करीब १०० मेगावाट रहेको छ ।
त्यस्तै ६० मेगावाटको नार खोला र ४० मेगावाटको बलेफी जलविद्युत आयोजनाको अध्ययन सकिएर विद्युत खरिद विक्री सम्झौता (पीपीए)को पर्खाइमा छन् । सबै गरेर कार्की संग्लग्न जलविद्युतको क्षमता करीब साढे तीन सय मेगावाट पुगीसकेको छ ।